धनुषामा एक बालिका बाढीले बगाउँदा बेपत्ता

महेन्द्रनगर ।

धनुषामा बाढीले एक बालिकालाई बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा धनुषाको नगराइन नगरपालिक–४ घोडघास बस्ने घुरघुर राउतकी १० वर्षीया छोरी दुर्गा राउत छिन् ।

आज दिउँसो घाँस काट्न गएको बेला उनलाई खेतमा आएको बाढीले बगाएर बेपत्ता बनाएको स्थानीयवासी प्रमोद राउतले जानकारी दिनुभयो । बालिका दुर्गासँगै बगेका अन्य दुईजना बालिकाको भने स्थानीय बासिन्दाले सकुशल उद्धार गर्न सफल भएका छन् । बेपत्ता भएकी दुर्गाको खोजी कार्य जारी रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

धनुषामा खोला बगाएर एक युवकको मृत्यु, एक हजारभन्दा बढी घर डुबानमा

धनुषामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–१ फुलबरियाका २२ वर्षीय राजाराम यादवको चारनाथ खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो गोठालो गएका राजाराम फर्किने बेला चारनाथ खोला तर्ने क्रममा बगेका थिए । स्थानीय बासिन्दा र प्रहरीले खोजबिन गरेपछि रातिे करिब दुई किमी टाढा राजारामको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी, पुरानो जलादमा आएको बाढीले जनकपुर उपमहानगरपालिकामा एक हजारभन्दा बढी घर डुबानमा परेको छ । उपमहानगर–१ शिवपथ क्षेत्र र मुसलमान टोल, वडा नं १६ का कपिलेश्वरका करिब एक हजार घरमा बाढी पसेको छ । सञ्जय यादव र सुनिलकुमार सिंहको घर बगाएको छ ।

सडकमा पाँच फिटसम्म पानी जमेपछि स्थानीय अग्लो ठाउँमा गएर ज्यान जोगाएका छन् । भुइँतलाका खाद्यान्न, लत्ताकपडा भिजेर बर्बाद भएको छ । किशोरीनगर, आनन्दनगर, हवाई अड्डा, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयमा पानी पसेको छ ।

यसैबीच, वर्षाले जलमग्न भएको कारण र सम्भावित दुर्घटनाबाट बच्नका लागि भनेर जिल्लाभरिका सबै सामुदायिक र निजी विद्यालय बन्द गरिएको छ ।

केही दिनदेखि अविरल परिरहेको वर्षाका कारण धनुषा जिल्लाका दर्जनौँ गाउँका हजारौँ बासिन्दा जोखिममा रहेका छन् । घर–घरमा पानी पसेर जनजीवन अस्तव्यस्त र कष्टकर बनेको छ । जनकपुर उपमहानगरपालिकाका करिब ७५ प्रतिशतभन्दा बढी घरमा वर्षाको पानी पसेर जमेको छ ।

कमला, जलाद, चारनाथ र जुडे खोलामा आएको बाढीले उत्तरी र पूर्वी धनुषाको दर्जनाँै गाउँ डुबानमा परेको छ । जनकपुर उपमहानगरपालिकाका साथै सबैला, क्षीरेश्वरनाथ, मिथिला, गणेशमान चारनाथ, धनुषाधामलगायतका नगरपालिकाका अधिकांश गाउँ डुबानमा परेको छ । सडक तथा नाला जीर्ण रहेकाले वर्षाको पानीको निकास नहँुदा जनकपुर उपमहानगरपालिकाको शिव चोक, भानु चोक, राम चोक, मुरली चोक तथा जनक चोक, पेठिया बजार लगायतका मुख्य चोकमा वर्षाको पानी जमेर जलमग्न भएको छ ।

जनकपुर बजारमा अधिकांश सडक यतिबेला नालामा परिणत भएका छन् । नालाको पानी सडक भएर नै बगिरहेकाले आवतजावत गर्ने सर्वसाधारण तथा यात्रु मर्कामा परेका छन् । जनकपुरको बाह्रविघा तथा तिरहुतिया गाछीमा पनि पानी, हवाई अड्डाको वरिपरि पनि पानी जमेर तलाव झँै देखिएको छ । दूरसञ्चार कार्यालय, खानेपानी संस्थान, वन विभाग, मालपोत, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जनकपुर अञ्चल अस्पताल, हुलाक, तथ्यांक कार्यालय लगायतका कार्यालयमा करिब दुई फिट पानी जमेको छ । वर्षाको कारण जनकपुरसहित धनुषाका दुई दर्जन घर भत्केको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । जनकपुर–६ बस्ने नुरजहाँ खातुनको घर भत्केर खसेको छ ।

त्यस्तै, चारनाथ नथरपालिकामा चार, शहिद नगरपालिका दुई घर भत्केको छ भने अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरका अलवलोकन कर्ता राजेन्द्रकुमार राउतका अनुसार शनिबार बिहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म २८.६ मिलिलिटर पानी परेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले जिल्लामा रहेको नदी तथा खोलामा पानीको बहाव बढ्दै गएकाले सबैलाई सतर्क रहन अपिल गर्नुभएको छ । प्रजिअ चापागाईंले अहिलेसम्म वर्षाका कारण घर भत्केर लाखौँ मूल्य बराबरको भौतिक क्षति भए पनि कुनै मानवीय क्षति नभएको बताउनुभयो । पीडितलाई सहयोग गर्न दैविक प्रकोप जिल्ला समन्वय समिति तयारी अवस्थामा रहेको भन्दै उहाँले भन्नुभयो, “सबै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेको छु र स्थानीय निकायलाई पनि तयारी अवस्था छन्, त्यो अवस्था आए सबै निकाय सक्रिय सहयोगका लागि अगाडि आउँछ ।”

रातु पुल भासियो

अविरल वर्षाका कारण रातो नदीमा पानीको बहाव उच्च भएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषा जोड्ने रातो पुल भासिएको छ । पुल भासिएपछि भारी सवारीसाधनको आवागमन बन्द गरिएको छ । हलुका सवारी मात्र जान दिइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले बताउनुभयो । शर्माका अनुसार पुल चार–पाँच इञ्चभन्दा बढी भासिएको छ ।

प्राविधिक जाँचपछि मात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुङ्गो लाग्नेछ । ४३ वर्षअघि बनेको पुलको क्षमता १०.२ मेट्रिक टन मात्र छ । तर दोब्बर भारका १६ चक्के र १८ चक्के मालवाहक ट्रकलाई समेत आवतजावतको अनुमति दिएकाले जोखिम बढेको हो । देशको पूर्वी भेगलाई काठमाडौँसँग जोड्ने यो पुल तीन वर्ष पहिले साउन २९ गते पनि बाढीले भासिएको थियो ।

Related posts

Leave a Comment