नेपाली कांग्रेसले विदेशी नागरिकलाई पनि चुनावमा उम्मेदवार बनायो

सिन्धुपाल्चोकको लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ ।

अमेरिकामा होटल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेर कांग्रेस केन्द्रीय कार्यालयमा पठाएको छ । नेपाली नागरिक नै नभएकालाई समानुपातिकमा सिफारिस गरेपछि कांग्रेस सिन्धुपाल्चोकका नेता–कार्यकर्ता अचम्मित भएका छन् ।

क्षेत्र नम्बर १ बाट कांग्रेस नेता हरिशरण श्रेष्ठसहितका नाम मात्रै क्षेत्रीय समितिले सिफारिस गरेको थियो । तर, जिल्ला समितिले मोक्तानको नाम दुई नम्बरमा सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

लामो समयदेखि अमेरिकामा बसेका मोक्तान अहिले सांसदमा सिफारिस गर्न भन्दै नेताहरूको घरदैलोमा धाउन थालेको कांग्रेस नेताहरूको आरोप छ । कांग्रेस नेता प्रकाशमान सिंहको घरमा पटकपटक पुगेर उनले आफूलाई समानुपातिक सांसद बनाइदिन आग्रह गरेका छन् । क्षेत्रीय समितिले सिफारिस नगरे पनि जिल्ला समितिले भने मोक्तानलाई सिफारिस गरेको कांग्रेस स्रोतको दाबी छ । वर्षैं देखि पार्टीको राजनीतिमा लागेकाहरूलाई बेवास्ता गरेर रकमको आडमा यसरी सिफारिस गरिनु गलत भएको कांग्रेस सिन्धुपाल्चोका नेताहरूको भनाइ छ ।

स्थानीयमा हारेका पनि सिफारिस

नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय चुनावमा हारेकालाई पनि प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ मा बाह्रबिसे नगरपालिकाको प्रमुखमा पराजित बालकृष्ण बस्नेत सिफारिसमा परेका हुन् । उपप्रमुखमा पराजित लीला नेपाल समानुपातिक उम्मेदवारमा सिफारिसमा परेकी छन् । त्यस्तै, भोटेकोसी गाउँपालिकामा पराजित साङ्बु शेर्पा, जयबहादुर लामा, आइतमान तामाङ, गीता नेपाल पनि समानुपातिकमा सिफारिस भएका छन् ।

जितेका पनि सिफारिस

कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमती मीरा लामा अधिकारी स्थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिकामा उपाध्यक्षमा विजयी भएकी थिइन् । तर, उनलाई प्रदेशसभाको समानुपातिक उम्मेदवारमा समेत सिफारिस गरिएको छ ।त्यस्तै, वडाध्यक्षमा निर्वाचित देवप्रसाद बानियाँ पनि सिफारिसमा परेका छन् ।

बहालवाला शिक्षक पनि

सरकारी तलब भत्ता र सेवासुविधा लिइरहेका केही शिक्षक पनि समानुपातिक तर्फबाट सिफारिस भएका छन् । यसमा नेपाली कांग्रेसबाट दुई जनाको नाम परेको छ । चण्डेश्वरी मावि भोटसिपाका प्रधानाध्यापक रुद्रलोचन आचार्य प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा १ बाट समानुपातिकतर्फ सिफारिस भएका छन् ।

यस्तै, पाल्चोक निमाविका शिक्षक नारायण गिरी पनि समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । राजधानी दैनिक

Related posts

Leave a Comment