समुदायमा आधारित संरक्षण कार्यक्रम प्राथमिकतामा

टिभी अन्नपूर्ण

काठमाडौं, २४ कात्तिक ।

वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले नेपालले विगतदेखि नै जैविक विविधता संरक्षण तथा पारिस्थितिकीय प्रणाली सुधारका लागि समुदायमा आधारित संरक्षण कार्यक्रमलाई विशेष महत्व दिँदै आएको बताउनुभएको छ ।  आज यहाँ आयोजित नेपालको पारिस्थितिकीय प्रणाली सेवाका लागि भुक्तानी सम्बन्धमा नीति अनुसन्धान विषयक अन्तक्र्रियामा मन्त्री भण्डारीले सामुदायिक वन, मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्र व्यवस्थापनजस्ता कार्यक्रमबाट स्थानीय समुदाय लाभान्वित भएको उल्लेख गर्नुभयो ।

 मन्त्रालयको अगुवाइमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र वातावरणीय सुशासन कार्य समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा उहाँले भन्नुभयो, “पारिस्थितिकीय प्रणालीको व्यवस्थापन तथा यसबाट प्राप्त हुने सेवाबाट अधिकतम् लाभ लिन नसेकेको तथ्य यथार्थ हो ।

यसलाई मध्यनजर गरी नेपालले वातावरणीय सेवा तथा भुक्तानीको प्रक्रियालाई नीतिगत रुपमै स्वीकारेको छ ।”  कार्यक्रममा वन सचिव कृष्णचन्द्र पौडेलले वातावरण विनाश हुने गरी विकास निर्माणका कार्य हुने गरेको गुनासो गर्दै यसलाई व्यवस्थापन गर्न मध्यमार्गी उपाय निकाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद राजाराम स्याङ्तान, राष्ट्रिय योजना आयोगका सस्दय डा प्रभु बुढाथोकी, इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेन, मन्त्रालयका सहसचिव रेशमबहादुर डाँगीलगायतले अध्ययन अनुसन्धानबाट प्राप्त सुझाव तथा नतिजालाई कसरी नीतिगत तहमा अवलम्बन गर्न सकिन्छ तथा प्रभावकारी नीति निर्माणमा सहयोग पु¥याउन सकिन्छ भन्ने सुझाव दिनुभएको थियो । रासस

Related posts

Leave a Comment