नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

राप्रपाको सत्ता ढल्यो

बाँकेको नेपालगन्ज उमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित विष्ट २३ हजार ४६० मतसहित नगरप्रमुख चुनिँदा नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत पर्यो ।

नगर उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार शान्ति देवी ढकालले १० हजार ९१५ मत पाएकी छन् । राप्रपाकी बिन्दु चर्तिमगरले १० हजार १३५ मत पाएकी छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगंज उपमहानगरपालिका राप्रपाले जितेको थियो । हाल राप्रपाका महामन्त्री धवलशमशेर राणा २०७४ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ५ सय १५ मत ल्याएर निर्वाचित भएका थिए ।

उपमेयर भने कांग्रेसकी उमा थापामगर निर्वाचित भएकी थिइन् । उनले १० हजार ७ सय ३० मत प्राप्त गरेकी थिइन् । यो निर्वाचनमा राणा नेपालगंजको मेयरमा उम्मेदवार बनेका थिएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार