अभिव्यक्ति स्वतन्त्रताको अधिकार संगै जिम्मेवारी बारे समेत सोंच्ने कि?

सन्तोष खडेरी 
” हामीले अभिव्यक्ति स्वतन्त्रताको हाम्रो अधिकार बारे धेरै कुरा गर्यौं तर अब हामीले अभिव्यक्ति स्वतन्त्रताको हाम्रो जिम्मेवारी बारे समेत थप कुरा गर्न आवश्यक छ। हामी सबै सुनिन चाहान्छौं तर कुनै अभिप्रायका साथ बोल्नु र ध्यानपूर्वक बोल्नुको भिन्नतालाई स्वीकार गरौं। ”
माथीको यो भनाई सूचना प्रविधिको युग र संचार क्रान्तिको समयमा अभिव्यक्ति स्वतन्त्रतालाई मात्र अगाडी सारेर कर्तव्य भुल्दा यसबाट ईन्टरनेटका कारण हालसम्म सबैभन्दा बढी प्रताडित अमेरिकी नागरिक ‘मोनिका लेवेन्स्की’ को हो। मोनिका उनै युवती हुन जो ९० को दशकको उत्तरार्धमा आफू ह्वाइट हाउसमा कार्यरत रहेका बखत  तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन संगको प्रेम र यौन सम्बन्धका कारण चर्चित र बद्नाम थिईन। त्यही सम्बन्धका कारण क्लिन्टनको राष्ट्रपती पद सम्म धरापमा परेको थियो भने करिव २ दशक पार गर्दा समेत उक्त सम्बन्धको चर्चा आज पनि संसारभर उत्कर्षमा नै रहन्छ। संसारभर संचार क्रान्तीको लहरको समयमा भर्खरै उदाएका २४ घण्टे न्युज टेलिभिजन च्यानल , ईन्टरनेटको क्रान्तिले  एकै क्लिकमा संसारभर विद्युतीय छापामा प्रसारण/प्रकाशन हुने युगको घटना एकैसाथ संसारभर सार्वजनिक हुंदा मस्त निद्रामा रहेको अमेरिका सहितको सारा बिश्वजगत ब्युंझिएन मात्र यसले अघिल्लो रात सामान्यताका साथ सुतेकी सामान्य नागरिक मोनिका समेत बिहान उठ्दा सार्वजनिक ब्यक्ती बनिन् त्यो पनि खराव छविका साथ।
राष्ट्रपति भएकाले क्लिन्टनले समेत अनेकन प्रश्नको सामना गर्नु पर्यो भने पुरुषप्रधान बिश्वसमाजमा महिला भएकै कारण मोनिकाले अनेकन आरोप प्रत्यारोपको सामना गर्नु पर्यो जसबाट उनी अत्यन्तै प्रताडित भएको उनले १६ बर्ष पछि सार्वजनिक हुंदा ब्यक्त गरिन त्यसैको अंश हो माथी शुरुमै उल्लेख गरिएको। मोनिकाको उदाहरण यहाँ किन पनि दिने कोसिस गरिएको हो भने संचारमाध्यमले प्रेस स्वतन्त्रता र आममानिसले अभिव्यक्ति स्वतन्त्रता समग्रमा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा त्यसको नकारात्मक पाटोका रूपमा हाल सम्म उनी नै सबैभन्दा बढी प्रताडित हुनेमा पर्छिन भने करिव डेढ दशकको आफ्नो अनुभवले उनले ब्यक्त गरेको अभिव्यक्ति ईन्टरनेटको युगमा कुनै घटना घट्नासाथ ईन्टरनेटका माध्यम बाट त्यसमा आफ्नो विचार अभिब्यक्त गरिहाल्ने आजको पुस्तालाई प्रेरणा सहित गतिलो शिक्षा समेत हुन जान्छ।
२० औं शताब्दी उपनिवेश बाट स्वतन्त्रताको पक्षमा लडेको बिश्वसमुदाय अहिलेको २१औं शताब्दी सम्म आईपुग्दा उपनिवेशको स्वतन्त्रता मात्र होइन संवैधानिक मौलिकहकमा रुपमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्राप्त गरेको छ त्यो संगै आजको सूचना प्रविधीको युगले प्रत्येक ब्यक्तिलाई आफू भएको स्थानबाट आफ्नै हातको एकै क्लिकले आफ्नो अभिव्यक्ति एकैपटक संसारभर पुर्याउने अवसर दिएको छ जसका कारण कुनै पनि घटना घट्ना साथ सामाजिक संजालमा तुरुन्तै आफ्नो विचार ब्यक्त गरिरहेका छौं तर छिटो विचार ब्यक्त गर्ने र लोकप्रिय भईने बहानामा हामी अभिव्यक्ति अधिकारको उपयोग गर्दा कतै कर्तव्य/जिम्मेवारी त भुलिरहेका छैनौं नि? बिचार अभिब्यक्त गर्दा हामीले जान अन्जानमा कतिपय अवस्थामा क्षणभरमै कसैको ब्यक्तिगत चरित्रलाई ध्वस्त बनाईसकेका हुन्छौं भने त्यसको असर परि कानूनी हस्तक्षेप भए पछि मात्र थाह पाउँछौं।
संचारमाध्मका प्रेस स्वतन्त्रता र ब्यक्तिका अभिव्यक्ति स्वतन्त्रताका आजका शैलीलाई हामीले हेरौं जहाँका हेड लाईन हरुबाट नै प्रत्यक्ष झल्कन्छ कतिपय अवस्थामा जिम्मेवारी बिर्सिएको हाम्रो अभिव्यक्ति स्वतन्त्रता ? जहाँ स्थापित संचारगृहले चलाउने मूलधारका पत्रिकाका हेडलाईन नै साह्रै अप्रिय लाग्छन् जहाँ महिला तथा बालबालिकाका कतिपय मुद्दामा सार्वजनिक नहुनु पर्ने बिषय सार्वजनिक हुन्छन् , कुनै घटनाका आरोपी वा संदिग्ध मात्रै ब्यक्ती समेत पूर्ण अपराधी करार गरिन्छन अंझ त्यस्तै आजका दिनका कतिपय टेलिभिजन बहस समेत कुनै ब्यक्ती प्रती लक्षित हुन्छन् जहाँ अदालतमा विचाराधीन मुद्दामा समेत टिकाटिप्पणी बहस समेत भई फैसला समेत बाहिरै हुन्छन् कसैलाई सफाई वा कसैलाई दोषी करार गर्न समूह नै खटिन्छन। केही समय अघि मात्रै रुपन्देहीमा प्रेम गरेको बिषयलाई लिएर युवायुवती प्रेमी प्रेमिका लाई सार्वजनिक यातना दिएको बिषयको समाचारको हेडलाईन बन्यो ‘अवैध प्रेमका कारण कुटिए एक जोडी’ प्रेम प्रेम नै हुन्छ त्यो पनि के वैध वा अवैध हुन्छ त्यो निर्धारण गर्ने मापदण्ड के त? त्यसको अधिकार कसले दियो ? संचारमाध्यमका वा ब्यक्तिका अभिव्यक्ति हुन कुनै समयमा तिनीहरुको अभिव्यक्ति कसैलाई प्रत्यक्ष निशाना बनाई जबर्जस्ति दोषी करार गर्ने दिशामा उन्मुख हुन्छ समाचार विचार प्रसारण गर्ने शैली निकै पृथक हुन्छ भीड जुटाई आफूलाई सर्बोच्च देखाउने शैलीको भने आजका दिनमा टिआरपी पाउने होडबाजीले झनै यस्तो बढेको छ जसमा संवेदना बढाउन आवश्यक छ।
आजका दिनमा अंझ सामाजिक संजालको मार्फत ब्यक्त हुने अभिव्यक्ति देशका प्रमुख पदमा रहेका उच्च पदस्थ पदाधिकारीहरु माथी निकै असभ्य र अश्लील हुने गर्दछ। विरोधका आवाज शान्तिपूर्ण र सभय शब्दका साथ पनि राख्न सकिन्छ तर केही समय अघि राष्ट्रपति कार्यालयले १४ करोडको गाडी माग गरेको समाचार प्रकाशित हुनासाथ त्यसको तिब्र विरोध भयो गरिव देशका जनताको राष्ट्रप्रमुखले त्यस्तो सुविधाको माग गर्नु उचित होइन भन्दै सभ्य र भब्य विरोध भए तर त्यही विरोधलाई सम्माननीय राष्ट्रपतिलाई एक युवाले अपशब्द प्रयोग गरि गरेको विरोधका कारण उनी कानूनी कारवाहीमा परे त्यसैले आफ्नो देशको गरिमा प्रतीक रहेका उच्च पदस्थ पदाधिकारीहरुलाई इज्जत गरौं उनीहरुको मर्यादाको ख्याल गरौं । सामाजिक संजालमा राष्ट्रप्रमुखको फोटोलाई बिगारी अर्को पनि उच्च पदस्थ ब्यक्ती संग जोडि सम्बन्धलाई लिएर गर्ने टिकाटिपप्णी समेत असह्य हुन्छन् सामान्य नागरिकका लागि समेत त्यसैले हामीले अभिव्यक्ति स्वतन्त्रतामा आफ्नो जिम्मेवारीको ख्याल गरौं। राजनीतिक रङले विभाजित नेपाली समाजमा आफ्नै दलको प्रधानमन्त्री र मन्त्री हुंदा सम्माननीय र माननीय लगाउने त्यस्तै अर्को दलको हुनासाथ अपशब्द प्रयोग गर्ने चलन ब्याप्त छ त्यसैले त्यो पदको सम्मानका लागि हामी संयमित हुनै पर्छ।
देशको मौजुदा राजनीतिक ब्यबस्था त्यसमा राजनीतिक दलको कार्यशैली र त्यसबाट सिर्जित समस्या लाई लिएर हामी नेपाली जनता असन्तुष्ट मात्र होइन अत्यन्तै क्रोधीत समेत भईसकेका छौं जसको लागि हाम्रो आक्रोश पोख्ने थलो भएको छ सामाजिक संजाल जहाँ  सभ्य शब्दको चयन र संयमता कतिपय अवस्थामा हराईसकेको छ त्यस्तै हामी प्रवृत्ति प्रती नभई ब्यक्ती प्रती लक्षित हुदैछौं जहाँ कुनै पनि मुद्दामा मतभेदलाई कतै पर राखेर मनभेदलाई अंगीकार गरिरहेका छौं जून शैलीले सामाजिक संजाल वा चियागफमा सिमित छैन संसद देखि सडक सम्ममा समेत जरा गाडिसकेको छ। हामीले अभिव्यक्तिको अधिकारको प्रयोग गर्दा धेरै ठाउँमा कर्तब्य त भूलिसकेका छौं संगै अभिव्यक्तिको शैलीमा समेत थप अतिसामान्य र नैतिक कर्तब्य समेत कतै पालना गरिरहेका छैनौं। हाम्रो अभिव्यक्ति अहिले लेखाईमा  मात्र सिमित छैन मानवसभ्यताको इतिहासमा नै आफ्ना अभिव्यक्ति  लिखित , सचित्र , दृश्य र श्रब्य रुपमा लिपिबद्द दस्तावेजीकरण गर्ने अवसर अहिलेको पुस्तालाई जुराएको छ त्यसैले यहाँ संवाद प्रत्यक्ष हुन्छन् जहाँ शैली निकै आक्रोशपूर्ण , बोल्ने बोली निकै रुष्ट उत्तेजक र शब्द निकै अश्ली प्रयोग भईरहेका छन् जून सम्पूर्ण प्रत्यक्ष महसुस गर्न सकिन्छ।
हामी सबै नागरिक जिम्मेवार हुँदै माथी मोनिकाले भने झैँ हामीले अभिव्यक्ति स्वतन्त्रताका बारेमा समेत थप बहस गर्नु पर्ने जरुरी छ भने त्यस्तै हामी सुनिन चांहदा हामी अभिप्राय र आसयका साथ भन्दा पनि जानकारी गराउने ढंगले प्रस्तुत हौं जसबाट नै हामी सभ्य संस्कार युक्त सभ्य समाज अनि देशको परिकल्पना गर्न सक्छौं।

Related posts

Leave a Comment