नक्कली भ्याटबिल र अबैध हुण्डी कारोबारीमाथी अनुसन्धान शुरु

टिभी अन्नपूर्ण, काठमाडौं ।

भ्याट फछ्र्योट प्रकरणमा अहिलेसम्मकै सबैभन्दा ठुलो भष्ट्रचार भएको ठहरसहित आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा पक्राउ परे ।

उनी पक्राउ परेलगत्तै सरकारले नक्कली भ्याटबिलको प्रयोग गरेको आशंकामा केही रेमिट्यान्स कारोबार गर्ने तथा अन्य कम्पनीमाथीको अनुसन्धान शुरु गरेको छ । वैध रेमिट्यान्सकै लाईसेन्स लिएर पनि भित्रभित्रै अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा केही समयदेखी अनुसन्धानको घेरामा परेको फर्म तथा संस्थाले नक्कली भ्याटबिलका आधारमा समेत कारोबार गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन अगाडि बढाएको हो ।

वैध रेमिट्यान्सको कारोबारको लाईसेन्स लिएर स्थापित भएका रेमिट्यान्स कम्पनीका साथै अन्य केही फर्मबारे विभागमा परेको उजूरीका आधारमा नक्कली भ्याटबिल छानबिन कार्य अघि बढाइएको विभागले जनाएको छ ।

यसरी शुरु भएको अबैध हुण्डी र नक्कली भ्याटबिल प्रकरण निकै ठूलो भएको अनुसन्धान विभागका महानिर्देशक रामकृष्ण सुवेदीले बताउनुभयो । पछिल्लो समय भएका कामहरुबारे जानकारी दिन आयोजित एक कार्यक्रममा उहाँले “विभागले अहिलेसम्मकै दोस्रो ठूलो नक्कली भ्याट बिल प्रकरणमा हात हालेको छ, यो निकै ठूलो भएकोले अनुसन्धान गर्न अझै समय लाग्नेछ ।”

यस्ता नक्कली भ्याटबिलबारे प्रयोग गर्ने तथा अवैध हुण्डीको कारोबार गर्ने केही कम्पनीबारे संकेत गरेपनि स्पष्ट खुलाउन भने चाहेनन् । अनुसन्धानका क्रममा केही ठूला व्यापारिक घराना तथा संस्थाको फाइल हात पारिसकेको भएपनि केही कम्पनीबारे शुक्ष्म अनुसन्धान गर्नुपर्ने भएकाले यसलाई खुलाउन नमिल्ने बताउनुभयो । स्रोतका अनुसार अहिले चलेको अनुसन्धान लामो समयदेखि कुनै पनि सरकारी निकायबाट भएको छैन । भ्याटबिल प्रकरणमा ठूला व्यापारिक घराना, ट्रेडिङ कम्पनी तथा हुन्डीको कारोबार गर्ने अधिक छन ।

विभागले अहिले गरिरहेको अनुसन्धान टुंग्याएर दोषीमाथि मुद्दा दायर भए यो अनुसन्धान पछिल्लो समयको निक्कै ठुलो उपलब्धि हुने अनुसन्धान विभागको दाबी छ । यसअघि आन्तरिक राजस्व विभागले पनि नक्कली भ्याट बिलको अनुसन्धान गरेको थियो । विभागले पाँच वर्ष पहिले गरेको नक्कली भ्याटबिल प्रकरणमा ३ सयभन्दा बढी फर्म दोषी पाइएका थिए । त्यतिखेर दोषी फर्मलाई करिब ७ अर्ब रूपैयाँ कर निर्धारण गरिएको थियो ।

यसरी गरिन्छ भ्याट बिलमा ठगः
उपभोक्ताले सामान खरिद गरेवापत सरकारलाई तिर्नुपर्ने रकम मूल्य अभिवृद्धि कर हो । यस्तो कर आम उपभोक्ताले व्यापारीमार्फत सरकारलाई तिरिरहेका हुन्छन् । व्यापारीको काम उपभोक्तासित लिएको कर सरकारलाई बुझाउने हो । नक्कली बिल बनाए, भ्याट तिरेको कागजातमा सरकारी अधिकारीको सही, सरकारी छाप, विवरण सबै नक्कली बनाएर पेश गरिन्छ । यसलाई राजस्व चुहावट नभई राजस्वको डकैती मानिन्छ ।

भ्याट छल्न व्यापारीले विभिन्न उपाय अपनाएका हुन्छन् । एउटा उपाय भ्याटमा कारोबार रकम कम देखाएर आयकर छल्नु हो । यस्तो काम प्रायः सबैले गर्छन् । मानौं एक लाख रुपैयाँको सामान भन्सारमा १० हजार रुपैयाँको मूल्यांकन गरेर ल्याईन्छ । तर त्यसको बिक्री भने एक लाख रुपैयाँमा नै गरिन्छ र हामीले कर एक लाख रुपैयाँको नै कर तिरिरहेका हुन्छौं ।

Related posts

Leave a Comment