नेपाली फुटबल टोली आज जापान जाँदै, जापानका ५ क्लबसँग खेल्ने

टिभी अन्नपूर्ण, काठमाडौं ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदैछ ।

एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेम्बरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपली टोली जापान जान लागेको हो । नेपाली टोली जापानमा १० दिनसम्म रहनेछ । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानको भूमिका अनिल गुरुङले गर्नेछन् ।

जापानको ओसाकामा नेपालले स्थानीय पाँच क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । जापान जाने टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन् ।

गोलकिपर किरण चेम्जोङ र रोहित चन्द विदेशमा लिग खेलिरहेकाले जापान जाने टोलीमा समावेश छैनन् । नेपाली टोलीको जापान भ्रमणलाई जापानको विदेश मन्त्रालय र जापान फुटबल संघले व्यवस्थापन गर्नेछ ।

जापानमा पहिलो खेल अगस्ट १२ मा गाम्बा ओसाकाको २३ वर्षमुनिको टोलीसँग हुनेछ । नेपालले १६ अगस्टमा क्वानसेइ गाक्विन युनिभर्सिटीसँग खेल्ने छ ।

१७ अगस्टमा अमिटिज स्पोर्टस् क्लबसँग र अगस्ट १८ मा हानन युनिभर्सिटी तथा १९ अगस्टमा भिसेल कोब को १८ वर्षमुनिको टोलीसँग खेल्नेछ ।

Related posts

Leave a Comment