मकवानपुरमा खोलाले बगाउँदा दुईजनाको ज्यान गयो

टिभी अन्नपूर्ण, हेटौंडा ।

मबवानपुरमा खोलाले बगाउँदा २ जनाको ज्यान गएको छ ।

गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुरको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा वाग्मती गाउँपालिका वडा नम्बर १ फापरबारीका ५० वर्षीय पञ्चकुमार कुमाल र बकैया गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय वीरबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, शनिबारदेखि परेको अविरल वर्षाले त्रिभुवन राजपथको बागजोरा, हेटौँडा–नारायणघाट सडकखण्डको मनहरी, लोथर, स्थानीय थानभर्याङ र हेटौँडा–वीरगञ्ज सडकखण्डको रातमाटेमा आज बिहान पहिरो जाँदा हेटौंडा–वीरगञ्ज तथा हेटौंडा–नारायणघाटतर्फको यातायात सेवा अवरुद्ध भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए ।

मौसममा सुधार भएमा आज दिउँसोसम्म सबैतिरको यातायात सेवा सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक खटाइसकिएको उनले बताए ।

Related posts

Leave a Comment