बाढी पहिरोको अवस्था बुझ्न गृहमन्त्री शर्मा पश्चिम नेपालमा

टिभी अन्नपूर्ण, नेपालगञ्ज ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकर बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पश्चिम नेपाल पुगेका छन् ।

शुक्रबारदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा भईरहेको क्षतिको अवस्था बुझ्न गृहमन्त्री शर्मा नेपालगञ्ज पुगेका छन् । काठमाडौंबाट सिधै नेपालगञ्ज गएका गृहमन्त्री शर्माले सम्बद्ध अधिकारीहरुलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिएका छन् ।

यति एयरलाईन्सको प्लेन चार्टर गरेर पश्चिम नेपाल गएका शर्माले नेपालगञ्ज विमानस्थलमा आयोजित कार्यक्रममा सम्बद्ध अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । सबैभन्दा पहिले जोखिम तथा सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै पूर्व सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

उद्धार तथा रेस्क्यूमा सबै क्षेत्रबाट बल लगाएर मानविय क्षति कम गर्नतर्फ लाग्न अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पीडितलाई सुरक्षित ठाउँमा सार्ने, उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा लगायत राहत सामाग्रीको समेत समयमै व्यवस्थापन गर्न भनेका छन् ।

राहत तथा उद्धार गर्न आवश्यक पर्ने बजेट स्थानीय स्तरमा नभए केन्द्रले तत्काल उपलब्ध गराउने भन्दै गृहमन्त्री शर्माले विपद् व्यवस्थापन गर्नमा कुनै कन्जुसाई नगर्न अधिकारीलाई निर्देश गरेका हुन् ।

गृहमन्त्री शर्मासहितको टोली पूर्वतर्फको मौसम खराब भएकाले तत्कालका लागि पश्चिम नेपालको अवलोकन गर्न गएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । अवलोकन टोलीमा गृहमन्त्री जनार्दन शर्मासहित, सुरक्षा अंगका प्रमुखहरु, स्थानीय नेता तथा सांसदहरु र नेपाल सरकारका केही सचिवहरु छन् ।

Related posts

Leave a Comment