आफू सधैं गोविन्द केसीको मागका पक्षमा रहेको ‘प्रचण्ड’ दाबी

टिभी अन्नपूर्ण, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् ।

२१ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष प्रचण्डलाई भेट्न आएको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले आफू डा. केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले भने, ‘काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याई छ ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा पनि केसीले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको तर, कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन नसकेको जिकिर गरे ।

‘अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पार्नुपर्छ र अनसन तोडाउनुपर्छ । आज नै ३ बजे यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर अनसन तोडाउन पहल गर्छु, डा. केसीको अभियानप्रति म पुरै सकारात्मक छु, मेरो तर्फबाट सकारात्मक पहल हुन्छ,’ प्रचण्डले भने ।

भेटमा प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न प्रचण्डसँग आग्रह गरेको थियो ।

Related posts

Leave a Comment