आफ्नो भूमी बचाउन भारतले सबै ३६ ढोका खोल्यो

काठमाडाैँ ।

आफ्नो भूमी बचाउन भारतले गण्डक बाँधका सबै ढोका खोलेको छ । नारायणीमा पानीको सतह खतराको तहभन्दा माथी पुगेपछि ३६ वटै ढोका खोलिएको हो । आफ्नो नहरमा पूर्ण क्षमतामा पानी लैजाँदा नहर भत्किने त्रासमा रहेको भारतले नहरमा पानी बन्द गरेको हो ।

नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको उत्तर प्रदेश र बिहारमा पानी लगेको भारतले ती ढोका बन्द गरेर आफ्ना तर्फ (गण्डकको पूर्वी र पश्चिमी नहर) पानी लैजाँदा जिर्ण नहर फुट्न सक्ने भएकाले आफ्नो नहर जोगाउन सबै ढोका खोलेको हो । सबै ढोका खोलिएपछि नारायणी नदीमा पानी बग्छ र उसको नहरमा क्षतिको सम्भावना न्यून हुन्छ ।

पूर्वको कोशीमा आएको बाढीले शनिबार नेपाली भुभाग डुबानमा पार्दा पनि नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारतलाई ब्यारेजको ढोका खोल्न आग्रह गर्नु परेको थियो ।

गण्डक सम्झौता अनुसार नेपाली भुभागमा बनाइएको गण्डक ब्यारेजको ढोका खोल्ने साँचो भारतीयको जिम्मामा रहेको छ । भारतले गण्डक पूर्वी र पश्चिमी नहरबाट ३४ हजार क्यूसेक पानी भारतको बिहार र उत्तर प्रदेशमा सिंचाइकालागि लगेको छ ।  नहरका कारण नेपाली भुभागमा हुने डुबान र कटान नियन्त्रणको जिम्मा भारत सरकारको हो । उसले नेपालको नवलपरासी नेपाली भुभाग सिंचाइकालागि बनाएको नहरमा ३ सय ५० क्यूसेक क्षमताको छ । त्यसमा पानी खोल्ने जिम्मा पनि भारतको हातमा छ ।

गण्डकमा बाँध बनाएर भारतले गण्डक पश्चिमी नहरबाट उत्तर प्रदेशका विभिन्न भागमा सिंचाई गर्न १६ हजार ५ सय क्यूसेक लिटर ( प्रतिसेकेण्ड ) पानी लगेको छ । त्रिवेणीवाट १९.२ किलोमिटर नेपाली भुभाग हुँदै बिहार लगेको नहरको बेलाटारी नजिक बाढीले कटान गरेको छ ।

फाेटाेः कान्तिपुर

Related posts

Leave a Comment