जुन दिन एयरपोर्टको वाथरुममा श्रीमतिले कपडा फेर्न सकिनन्

सरसफार्इ अभियान्ता खेम शर्मा, स्याङजा/हाल अष्ट्रेलिया |

सन् २००८ मा म अष्ट्रेलिया गएको थिए । सुरुमै मैले सरसफाईको क्षेत्रमा काम गरे । मलाई सुरुका केहि दिनहरु साह्रै नरमाइला लागे । किनकी नेपालमा रहदा सानै भए पनि व्यापार गरेर बसेको मान्छेले ट्वालेट सफा गर्ने ब्रस समात्नु पर्यो । समय वित्दै जादाँ मैले बुझे, काम ठूलो सानो केहि पनि हुदो रहेनछ । मेरो पढाईदेखि अन्य खर्च र केहि पैसा यहिबाट बचत हुन्छ भने मैले यहि काम किन नगर्ने रु भन्ने मनमा अठोट लिए । मैले यहि अठोटका साथ सरसफाई कर्मलाई व्यवसायिक बनाएर रोजगारी सिर्जना गर्नतिर लागे । त्यसमा म सफल पनि भए ।अष्ट्रेलियामै रहदाको कुरा हो, २०१२ को अक्टोवरमा विहेको लागि हाम्रो इंगेजमेन्ट भयो । हामी विहे गर्न नेपालमा आउदाको एउटा घटनाक्रमले मेरो दिमागलाई गिज्याइरह्यो ।

त्यतिबेला, मेरो श्रीमतिले एयरपोर्टको वाथरुममा दुर्गन्धका कारण कपडा फेर्न नसकेको कारण, ममा लाज उत्पन्न भएर आयो । मलाई मेरो मनले भन्यो, अष्टेलियामा म यत्रो सफाईको काम गरिरहेको छु अनि आफ्नै देशमा आउदा आज यो अवस्थाको सामना गर्नु पर्यो । श्रीमतिले कपडा पनि फेर्न नसक्ने विमानस्थलको दुर्गन्धित वातावरणले प्रश्न जागेर आयो । तैले आफ्नो देशको लागि के गरिस त भनेर ? अष्ट्रेलियामा मैले सरसफाईको स्तर धेरै माथि पुगेको पनि देखेको थिएँ । मैले हाम्रो देशको अन्तराष्ट्रिय विमानस्थलको सफाई पनि किन नगर्ने ? भन्ने लागेर यो सोच बनाए । त्यसबेला देखि मैले एयरपोर्टको बारेमा सोधपुछ गर्न सुरु गरे । त्यसवीचमा धेरै आउजाउहरु पनि भए । तर मैले भन्ने वित्तिकै अन्तराष्ट्रिय विमानस्थलसम्मको पहुँच त्यति सम्भव थिएन ।

लेखकः खेम शर्मा सफाई अभियन्ता, स्याङजा । हाल अष्ट्रेलिया

यहि सिलसिलामा दुई वर्ष अगाडि हामीले भरतपुर विभानस्थलबाट  सफाई गर्ने काम सुरु गर्यौ । त्यहाँ भर्खर सरुवा भएर आउनु भएका अधिकृत शिव शर्मालाई पनि परिवर्तन गर्न मन लागेको हामीले थाहा पायौं । भरतपुरमा हामीले गरेको काम मिडियामा आइसकेपछि राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा यस्तो गर्न सकिने रहेछ भन्ने लागेर आयो । मैले अरुपनि आन्तरिक विमानस्थलहरु हेरेको छु, ती मध्ये पोखराको विमानस्थल धेरै सफा लाग्यो  तर अझै राम्रो बनाउने प्रशस्तै ठाउँहरु छन् ।त्रिभुवन विमानस्थल सफाईको सन्दर्भमा म सोचिरहन्थे । यसैक्रममा एनआरएनका वरिष्ठ उपाध्यक्ष भवन भट्टले चलाएको नमस्ते अभियान, कसरी पर्यटक नेपालमा भित्र्याउन सकिन्छ र उनीहरु फर्केर जादाँ कसरी खुशी भएर जान्छन् भन्ने विषयमा पनि केन्द्रित थियो । सरसफाई यसको महत्वपूर्ण अंग भएकोले हाम्रो समन्वय भयो । यसमा विभिन्न क्षेत्रहरुको पनि संलग्नता छ । त्रिभुवन विमानस्थल २०१२ को तुलनामा २०१७ मा धेरै सफा भएको मैले पाए । तर अझै धेरै गर्न बाँकी थियो । समय क्रमसँगै, नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको आधुनिक तथा बैज्ञानिक सरसफाईको एक महिने स्वयमसेवी अभियान २०१७ जुलाई ३१ को बिहान ५ बजे हामीले सम्पन्न  गरेका छौ । बेलुकीको १० बजेदेखि विहानको ५ बजेसम्म निरन्तर तीस दिन सात घण्टाका दरले २१ जना प्राविधिक र फिल्ड जनशक्तिले काम गर्दा हामीले अन्तराष्ट्रिय विमानस्थलको मुहार फेर्न सफल भएका छौं । विमानस्थलको अवस्थालाई आधुनिक बनाउन हामीले संयुक्त रुपमा ४ हजार ५ सय घण्टा समय हाम्रो देशलाइ दिन पाएका छौ । हामीले गर्न सक्ने प्रयास गर्यौ । हामीलाई यसमा गर्व छ । मैले यो कामको नेतृत्व गरे पनि यो कामको मुख्य नायकहरु भने सम्पूर्ण मजदूरहरु हुनुहुन्छ । मलाई सहयोग र हौसला दिने अरु पनि धेरै हुनुहुन्छ ।

यो काम गर्नुमा हाम्रो एक मात्र स्वार्थ भनेको देशको माया अनि प्रेम हो । यदि नेपाल सरकारले चाहने हो र अवसर मिल्यो भने देश एक वर्ष भित्र सफा र सुन्दर बन्छ, अझ एक वर्ष पनि लाग्नु हुदैन भन्ने पक्षमा म छु । हामीमा सकरात्मक सोचको पनि आवश्यक छ, सबै नकरात्मक भएर हुन्न । मेरो विचारमा संसार एक जनाले परिवर्तन गर्न सक्दैन तर परिवर्तन गर्न एक जना पनि काफी हुन सक्छ ।मेरो अनुभवमा, हामी जे गर्छौ, त्यसलाई अनुशासित भएर, सिस्टम बनाएर र समयको ख्याल गरेर गर्ने हो भने काममा गुणस्तरियता आउँछ । जस्तै मेरो आमाले ३० मिनेटमा खाना बनाईसक्नु हुन्छ तर त्यही काम गर्न मलाई त्यसको तेब्बर भन्दा बढि समय लाग्छ । हामी भन्छौ, बरु समय लागोस तर काम राम्रो चाहिन्छ तर म त्यसमा सहमत हुन सक्दिन । मेरो विचारमा कम समयमा गुणस्तरिय काम गर्नुपर्दछ । यतिखेर देशलाई हाम्रो आवश्यकता छ । हामीले देशलाई केहि योगदान अवश्य दिनुपर्छ र हामी तीन करोड नागरिकले देशको लागि केहि योगदान दिन सक्यौं भने अवको केहि वर्षमै हामीलाई देशले केहि दिनेछ । हामीले चन्द्रमाको कुरा हैन, पैताला अघिको कुरा गर्नुपर्छ । ५० डिग्रीको गर्मिमा ३०/४० हजारको लागि दैनिक १२ देखि १६ घण्टा हाम्रा नेपाली दाजुभाईहरुले काम गरिरहेका छन् । यदि राम्रो नेतृत्व र इच्छा शक्ति हुने हो भने त्यतिको आम्दानी हाम्रै देशमा सम्भव छ । अमेरिकाको बजारमा आउदै गरेका आइफोन नेपालमा पनि हप्ता दिनमा आउँछ भने सरसफाईमा प्रयोग हुने उपकरणहरु पनि ल्याउन सकिदैन भन्ने त छैन् । यो अभियान अन्तर्गत हामीले प्रविधिहरु ल्याएर  प्रयोग गरेर देखाएका छौं । हामीसँग इच्छाशक्ति छ भने गर्न खोजेको कुरा जसरी पनि पनि रोकिदैन । नेपालमा धेरै संरचना छन् र कामदारहरु पनि, तर कुरा आउछ, नेतृत्वको । कुनै पनि कुराको लागि नेतृत्वको भूमिका निकै महत्वपूर्ण हुन्छ ।

हाम्रो देश र यहाँका भवनहरु साना हुनु कुनै ठुलो विषय होइन । नेपालमा ठूला भवनहरु भए पनि ती भवन हेर्न भनेर कोहि पनि यहाँ आउदैन बरु सानो भएपनि व्यवस्थित बनाउन सक्यौ भने पर्यटकहरु अहिलेको तुलनामा धेरै आउने छन् । सरसफाई सभ्यताको प्रतिक पनि हो । हामीले विमानस्थलमा सरसफाईको अभियान संचालन गरेर विदेशमा भएको हाम्रो ज्ञान , सीप र प्रविधि तथा भावना हस्तान्तरण गर्न खोजेका थियौ ,त्यसमा हामी सफल भए जस्तो लाग्छ । हामीलाई विश्वास छ कि, हामीले सिकाएको सीपबाट विमानस्थल सधै सफा र सुन्दर रहिरहने छ । अब सरसफाई जस्तो अनिवार्य र महत्वपूर्ण विषयलाई अभियानका रुपमा संचालन गरिरहनु भन्दा सबैले आफ्नो क्षेत्रबाट सरसफाई गर्ने कामलाई इमान्दार भएर गर्नुपर्छ । त्यसका लागि सरकारले नेपालमा सरसफाई सम्बन्धी स्पष्ट नीति तथा मापदण्ड निर्धारण गरेर कार्यन्वयनमा ल्यााउनु पनि अनिवार्य छ । जनताको साथ, समर्थन र सहयोग निरन्तर हुनु एकदमै आवश्यक छ । अन्यथा, यस्ता अभियानहरुको अस्तित्व समाप्त भएर नजालान् भन्न सकिन्न ।

Related posts

One thought on “जुन दिन एयरपोर्टको वाथरुममा श्रीमतिले कपडा फेर्न सकिनन्

  1. MG

    नेपाल सरकार अन्धा र बैराहरुको जमात हो । तपाईं जस्ता व्यक्तिले आँखा खोल्दिन पर्छ अनि कानमा झिर घोच्न पर्छ ।

Leave a Comment