वाम एकताको सन्देश, अवसर र चुनौती

झलनाथ खनाल

– हामी तालमेल र पार्टी एकताको दुवै चरणलाई अगाडि बढाउँछौँ । यो धेरै महत्वपूर्ण, ऐतिहासिक र दूरगामी महत्वको विषय पनि हो । साथसाथै यो अत्यन्त चुनौतीपूर्ण पनि छ ।

– अब नेपालमा एउटा शक्तिशाली वामपन्थी पार्टी हुन्छ । यस्तो अवस्थामा गैरवामपन्थी अथवा पुँजीवादी शक्तिहरूले पनि आफूलाई एक ठाउँमा उभ्याउने कोसिस गर्छन् । तर, पुँजीवादीहरू स्वार्थको टकरावले एकताबद्ध हुन सक्दैनन् ।

– एकीकरण भनेको एउटाले अर्कालाई करण गर्ने होइन, विचारधारात्मक, राजनीतिक र सैद्धान्तिक कार्यदिशाका आधारमा एकीकरण हुने हो । यो एकताले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी, अग्रगामी शक्तिलाई एकताबद्ध बनाउँछ । देश र जनताको हितमा यो शक्ति उभिन्छ । देशलाई समृद्धितर्फ अगाडि बढाउन यसले योगदान पु-याउँछ ।

नेपाली समाज लोकतान्त्रिक क्रान्ति सम्पन्न गरी समाजवादलाई लक्ष्य बनाएर अगाडि बढेको छ । समाजवाद प्राप्तिलाई मुख्य लक्ष्य बनाएर हिँडेपछि स्वाभाविक रूपमा लोकतान्त्रिक, देशभक्त, प्रगतिशील, वामपन्थी शक्ति एक ठाउँमा लामबद्ध भएर अगाडि बढ्नुपर्छ । तब मात्र समाजवादको लक्ष्य प्राप्त गर्न सकिन्छ । त्यसैले सम्पूर्ण वामपन्थी शक्तिलाई एकताबद्ध बनाउनुपर्छ भन्ने नेकपा एमालेको धारणा छ । त्यो धारणालाई कार्यान्वयन गर्ने सिलसिलामा अहिले हामी वाम एकताको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौँ । वाम एकताको मुख्य सन्देश भनेको सम्पूर्ण वामपन्थी शक्ति एक ठाउँमा उभिएर मुलुकलाई समृद्धि र समाजवादतर्फ अगाडि बढाउने हो ।

एकताका दुई चरण

वाम एकताका दुईवटा चरण छन् । पहिलो नजिकिएको प्रदेश र केन्द्र्रको निर्वाचनमा तालमेलको विषय छ । हामी अहिले तालमेल गरेर जाने प्रक्रियामा छौँ । दोस्रो, पार्टी एकता । तालमेल र पार्टी एकताको दुवै चरणलाई अगाडि बढाउँछौँ । यो धेरै महत्वपूर्ण, ऐतिहासिक र दूरगामी महत्वको कुरा पनि हो । साथसाथै यो अत्यन्त चुनौतीपूर्ण पनि छ । त्यसकारण चुनौतीलाई सही ढंगले सामना गर्दै सम्भावनाहरूलाई एकताबद्ध भएर अगाडि बढाउनुपर्छ ।

अवसर र चुनौती

वामपन्थी शक्ति एकताबद्ध भएपछि स्वाभाविक रूपले जनतामा उत्साह, उमंग छ । एकताको भावना प्रबल भएको छ । देशको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, लोकतन्त्र अब सुदृढ हुन्छ । सामाजिक, आर्थिक रूपान्तरणमा तीव्रता आउँछ । देशको संस्कृतिहरूको रक्षा हुन्छ । अब देशले विदेशी मुलुकसँगको सम्बन्धलाई अझ राम्रो ढंगले उन्नत स्तरबाट बढाउन सक्छ भन्ने देखेर जनतामा खुसी छाएको छ । साथसाथै हामीसँग केही जोखिम पनि छन् । वामपन्थीहरूको एकतालाई तालमेल गर्ने कुरा र त्यसबाट अगाडि बढेर एकीकरण गर्ने कुराचाहिँ चुनौतीपूर्ण छ । किनभने हामीले एकआपसमा विचारधारात्मक एकरूपता, सैद्धान्तिक एकरूपता, संगठनात्मक एकरूपता, कार्यशैलीगत एकरूपतालगायत धेरै विषयमा एकरूपता कायम गरेर जानुपर्नेछ, जुन विषय त्यति सहज पक्कै छैन ।

एकले अर्कालाई करण गर्ने होइन

वाम एकताको विषयलाई हेर्दा एमालेले अहिलेसम्म कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउन खेलेको भूमिका हेर्नुपर्छ । हामीले ३५ वटा समूहलाई एकताबद्ध गरेका छौँ । त्यो क्रममा अनेकन् महत्वपूर्ण सफलता हासिल गरेका छौँ, अनुभवहरू हासिल गरेका छौँ । ती अनुभवका साथसाथै यो एउटा नयाँ अनुभव पनि हो । ती कुरालाई समेत ध्यानमा राखेर एकीकरण गर्दा एमालेका कार्यदिशा, नीति, सिद्धान्तहरूको आधारमा एकताबद्ध बनाउँछौँ, एकीकृत गर्छौँ र सबभन्दा महत्वपूर्ण कुरा एउटाले अर्कालाई करण गर्ने होइन, हामी हाम्रो विचारधारात्मक, राजनीतिक र सैद्धान्तिक कार्यदिशाका आधारमा एकीकरण गर्छौं । यो एकताले देशका सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी, अग्रगामी शक्तिलाई एकताबद्ध बनाउँछ । देश, जनता र राष्ट्रको हितमा यो शक्ति उभिन्छ । देशको विकास र निर्माणमा तीव्रता प्रदान गर्छ । देशलाई समृद्धितर्फ अगाडि बढाउन यसले योगदान पु¥याउँछ । त्यसकारण यसले समग्र रूपमा नै देश र जनतालाई एकजुट बनाउँछ ।

जनहितको समाजवाद

अहिले विश्वव्यापी रूपमा नै पुँजीवादी अधिनायकत्व विश्वका जनता र राष्ट्रका निम्ति समस्याको रूपमा देखा परेको छ । हाम्रो देशको पुँजीवादी शक्ति पनि अहिले वामपन्थी एकताबद्ध हुँदा अधिनायकवाद हाबी भयो भनेर आतंकित बनेको छ । वास्तवमा हामी एक हुन अधिनायकवाद होइन, साम्यवाद आउन सय वर्ष लाग्न सक्छ । तर, अहिले हामी समाजवाद स्थापना गर्ने दिशातर्फ अगाडि बढ्दै छौँ । यो समाजवाद लोकतान्त्रिक समाजवाद हुन्छ । देशभक्तिपूर्ण समाजवाद हुन्छ । सम्पूर्ण जनताको हितअनुकूलको समाजवाद हुन्छ । शान्तिपूर्ण, न्यायको पक्षधर, कानुनी राज स्थापना गर्ने समाजवाद हुन्छ । जसले जनताको हितलाई सुनिश्चित गर्छ । त्यस्तो अवस्थामा पुँजीवादी अधिनायकत्व समाप्त हुन्छ । पुँजीवादी तानाशाही ल्याउन नसकिने भयो, शोषण, दमन र अन्याय, अत्याचारका शृंखला समाप्त हुने भए । र, मुलुकमा राज गर्दै आएका सामन्त र पुँजीपतिहरूको राज समाप्त हुने भयो । त्यसकारण उनीहरू अहिले आतंकित भएका छन् ।

शक्तिशाली वामपन्थी

नेपालको लोकतन्त्र विकास गर्दै जाँदा स्वाभाविक रूपले संविधान कार्यान्वयन भइसकेपछि बिस्तारै मुलुकमा दुईवटा पार्टीको अवस्था आउन सक्छ । अहिले हामीले सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेका छौँ । अब नेपालमा एउटा शक्तिशाली वामपन्थी पार्टी त हुन्छ हुन्छ । यस्तो अवस्थामा गैरवामपन्थी शक्ति अथवा पुँजीवादी शक्ति पनि आफूलाई एक ठाउँमा उभ्याउने कोसिस गर्दै छन् । तर, त्यो कोसिस सफल होला भन्ने हामीलाई लाग्दैन । किनभने पुँजीवादीहरू स्वार्थी हुन्छन् । स्वार्थ–स्वार्थबीच टकराव हुन्छ । त्यो टकरावले गर्दा उनीहरू एकताबद्ध हुन सक्दैनन् ।

हार्दिकतापूर्वक स्वागत गरौँ

वामपन्थी एकतालाई सम्पूर्ण जनताले हार्दिकतापूर्वक स्वागत गर्नुपर्छ । वामपन्थी एकताले देशको राष्ट्रियतालाई सुदृढ गर्ने काममा मद्दत गर्छ । स्थापित लोकतन्त्रलाई अझ सुदृढ र उन्नत बनाउन मद्दत गर्छ । सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्रता प्रदान गर्नेछ । सम्पूर्ण संस्कृतिको जगेर्ना गर्ने काममा महत्वपूर्ण योगदान गर्नेछ । वामपन्थी एकताले अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि सन्तुलित ढंगले विकास गर्न मद्दत गर्नेछ । र, क्रमशः देशलाई समाजवादी दिशातर्फ अगाडि बढ्न सहयोग पु-याउँछ ।

(पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता खनाल वाम एकता संयोजन समितिका सदस्य हुन्)  नयाँ पत्रिका

Related posts

Leave a Comment