बैंक तथा बित्तिय संस्थालाई फेरि नोटको बण्डलमा स्टीच लगाउने बाटो खुल्यो

बैंक तथा वित्तीय संस्थाहरूलाई नोटको प्याकेटमा स्टीच लगाउन सर्वोच्च अदालतले फेरि छुट दिएको छ ।

सर्वोच्च अदालतको एकल इजलाशले २०७२ फागुन ३० गते बैङ्क तथा वित्तीय संस्थाले नोटको प्याकेटमा स्टीच लगाउन नपाउने गरी दिएको अन्तरिम आदेश खारेज गदैं फेरि नोटमा स्टीच लगाउन छुट दिएको हो ।

सर्वोच्चको आदेशपछि गत चैत्रबाट बैंक तथा वित्तीय संस्थाहरूले नोटको प्याकेटमा स्टीच लगाउन छाडेका थिए । न्यायाधीशहरू मीरा खड्का र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले एकल इजलाशबाट दिइएको आदेश खारेज गरेका कारण अब भने हरेक नोटको बण्डलमा एउटा स्टीच लगाउन पाउने छन ।

बैंक तथा वित्तीय संस्थाहरूले २०७२ फागुन ३० गते अघिसम्म आफ्ना सेवाग्राहीसँग नोटमा स्टीच लगाई कारोबार गर्दै आएका थिए । त्यसरी स्टीच लगाउँदा नोटमा प्वाल पर्ने र त्यसको आयु कम हुने हुँदा त्यस्तो स्टीच लगाउने परम्परा हटाउन आदेश दिन माग गर्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रूद्रप्रसाद पाठकले संयुक्त रूपमा सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले नोटको आयु बनाउन नोटमा स्टीच लगाउने कार्य बन्द गर्न अन्तरिम आदेश जारी गरेको थियो । रीट निवेदनको अन्तिम सुनुवाइ हुँदा भने २०७३ कात्तिक २४ गते सो अन्तरिम आदेशलाई खारेज गरी मागबमोजिम आदेश जारी गर्न नमिल्ने ठहर गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिअन्तर्गत सफा नोट नीति ल्याई सफा र स्वच्छ नोट कायम गरी लामो आयुसहितको नोट कायम गर्न आवश्यक पहलकदमी गरिरहेको देखिएको उल्लेख गर्दै सर्वोच्च अदालतले यस्तो अवस्थामा मागबमोजिमको आदेश जारी गर्न नमिल्ने आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘धेरै समय अगाडि नै नेपाली नोटहरूप्रति बेवास्ता भइरहेको अवस्थामा आजको आजै परिवर्तन आई सफा नोट नीति कायम हुन कठिन हुन्छ । सोका लागि व्यापक जनचेतना तथा बैंक तथा वित्तीय संस्था स्वयंले अनुशासित भई अगाडि बढेमा मात्र सफल हुने विषय हो ।’

दायर भएको रीट निवेदनमा नोटहरूमा सार्वजनिक तवरले जथाभावी केरमेट गर्ने, च्यात्ने र स्टीच लगाउने गरिएबाट गुणस्तरीय नोटको प्रयोगबाट उपभोक्ता वञ्चित हुन गएको र सो कार्यले देशको अर्थतन्त्रको सुदृढीकरण र सबलीकरण एवम् वित्तीय अनुशासनमा समेत असर परिरहेको उल्लेख गरिएको थियो ।

Related posts

Leave a Comment