नेपालको जडिबुटी सखाप पार्दै सिंहदरबार वैद्यखानालाई डुबाउँदै छन् विदेशी कम्पनीहरु

टिभी अन्नपूर्ण
अहिले नेपालमा राष्ट्रवाद र राष्ट्रियताको कुरा चर्को गरी उठिरहेको छ । यी सबै कुरा कुनै एउटा राजनीतिक पार्टीको आडमा भईरहेको छ । राष्ट्रियताको कुरा उठिरहँदा यहाँ विदेशी बहुराष्ट्रिय कम्पनीले बजार नै पुरै कब्जा गरेको कसैलाई चिन्ता छैन । राजनीतिमा जसरी राष्ट्रियताको कुरा उठिरहेको छ के त्यसरी नै आर्थिक मुद्दामा कसैले राष्ट्रियताको कुरा उठाईरहेको छ त पक्कै छैन ।
कतिपय जानकारहरु भन्छन्, नेपालले एउटा सियो समेत बनाउन नसकिरहेको बेला राष्ट्रियताको कुरा गर्नु खोक्रो राष्ट्रवाद हो । अहिले पुरै नेपालको बजार बहुराष्ट्रिय कम्पनीहरुले लुटिरहेका छन् । नेपालमा भएका स्रोत साधनहरु प्रयोग गरेर ती कम्पनीहरुले नेपालबाट पुँजी विदेश पलायन गरिरहेका छन् ।

जस्तो डाबर कम्पनी भनौं । डाबरले नेपालको जडिबुटी र स्रोत साधनहरुको ठाडै हस्तक्षेप गरी प्रयोग गर्दछ । डाबरले आयुर्वेदिक सामानहरुको निकै प्रचार प्रसार गर्छ । ती सामानहरु के कति गुणस्तर र उपयोगी छन् भन्ने कुरा कसैलाई थाहा छैन । कुनै विदेशी कम्पनी आएर नेपालमा लगानी गर्नु पक्कै नराम्रो कुरा होईन । तर ती कम्पनीहरुले नेपालको कानुन मान्नु पर्छ कि पर्दैन ? पक्कैपनि सोचनीय विषय छ ।
सरकारले चलाएका कतिपय उद्योग कलकारखानाहरु डुबाउन विदेशी कम्पनीहरु नेपालमा हात धोएर लाग्ने गर्दछन् । नेपालकै स्रोत साधनमा उनीहरुको रजाई हुन्छ । विदेशी कम्पनीले थिलो थिलो पारेको एउटा उद्योगको नाम हो सिंहदरबार वैद्यखाना । डाबर कम्पनीले गर्दा सिंहदरबार वैद्यखाना डुब्न थाल्यो ।

त्यसमाथि अहिले झन् रामदेवको पतञ्जली आयुर्वेद कम्पनीले गर्दा नेपालको पुरै जडिबुटी नै सखाप हुन लागिरहेको छ । रामदेवले नेपालमा उत्पादन हुने सबैजसो जडिबुटीहरु प्रयोग गरेर आयुर्वेदिक औषधीहरु उत्पादन गर्न लागेका छन् । बाराको जितपुरमा करिब सय करोड लगानीमा उनले गैरआवासीय नेपाली व्यवसायी डा. उपेन्द्र महतोसँग मिलेर पतञ्जलीको उद्योग खोले । नेपालकै जडिबुटीहरु प्रयोग गरेर रामदेवले आयुर्वेदिकका सामानहरु नेपालमै उत्पादन गर्दैछन् । गुणस्तरीय सामानहरु विदेश सप्लाई गरी कम गुणस्तरका सामानहरु नेपालमै खपत गराउने उनको योजना छ ।

एउटा ईतिहास बोकेको सिंहदरबार वैद्यखानालाई डाबर र पतञ्जलीजस्ता कम्पनीले पुरै डुबाउने रणनीति बनाईरहेका छन् । आयुर्वेदिक औषधिहरूको उत्पादन गर्न सरकारी तबरबाट सिंहदरबार वैद्यखाना विकास समिति स्थापित भएको संस्था हो । यसको इतिहास नै झण्डै साढे चार शताब्दी पुरानो छ । जनताको स्वास्थ्य ठीक पार्ने उद्देश्यले स्थापना भएको यो वैद्यखाना आफैं शिथिल छ ।
आयुर्वेदिक वस्तुहरूको उत्पादनमा निजी तथा बहुराष्ट्रिय कम्पनीहरू जुर्मुराइरहेका बेला सरकारले सञ्चालन गरेको सिंहदरबार वैद्यखानाको स्थिति एकदम दयनीय छ ।

कुनै बेला सिंहदरबार वैद्यखाना विकास समितिले सय भन्दा बढी आयुर्वेदिक वस्तुहरू उत्पादन गर्दथ्यो । यसले उत्पादन गरेका वस्तुहरू बजारमा निकै लोकप्रिय थिए । तर अहिले सबै ती वस्तुहरु लगभग हराए नै । कुनै समय सय भन्दा बढी आयुर्वेदिक वस्तुहरू उत्पादन गर्ने सिंहदरबार वैद्यखानाले पछिल्लो समय करिब २० वटा वस्तुहरूको उत्पादनमा खुम्चिएको छ । वैद्यखाना विकास समितिले आफूले उत्पादन गर्दै आइरहेका वस्तुको संख्या घटेको बताएको छ ।

झण्डै चार शताब्दी पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना विकास समितिले आयुर्वेद औषधी उत्पादनलाई निरन्तरता दिए पनि वर्षेनी यसको घाटा बढिरहेको छ । उत्पादन र बिक्रीको व्यवस्थित योजना नहुँदा भारतीय कम्पनीका आयुर्वेदिक उत्पादनहरुले नेपालको बजार पुरै कब्जा गरेका छन् । एक समयको नाम चलेको च्यावनप्रासदेखि सिलाजितसम्म उत्पादन गर्दै आएको वैद्यखानाले वर्षमा लगभग ३ करोड रुपैयाँको कारोबार गर्दै आएको छ ।

विगतमा आयुर्वेद विभाग अन्तर्गतका निकायमा विभिन्न किसिमका औषधि दिने गरिएकोमा हाल उसले प्राइभेट क्षेत्रबाट औषधि खरिद गर्ने गरेकाले पनि यसको उत्पादित वस्तुहरू घट्न गएको हो । सार्वजनिक खरिद ऐन लागू गर्नु अघि २०६४ सम्म आयुर्वेद विभाग अन्तर्गतका निकायमा यसका उत्पादनहरू झण्डै डेढ करोडको हाराहारीमा जाने गरेको थियो । तर, खरिद ऐन लागू भएपछि प्रतिस्पर्धाका आधारमा प्राइभेटसँग विभाग मातहतका निकायले औषधि लिन थालेकाले यसको बिक्रीमा गिरावट आएको हो ।
सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गर्ने च्यावनप्रासदेखि सिलाजितसम्मको माग बजारमा तीव्र छ । तर माग राम्रो भए पनि समितिले त्यस अनुरुप उत्पादन गर्न सकेको छैन । च्यावनप्रास जस्तै सिलाजितलगायत अन्य उत्पादनको पनि बजारमा अभाव हुने गरेको छ ।

सिंहदरबार वैद्यखाना विकास समितिले विभिन्न किसिमका आयुर्वेदिक वस्तुहरूको उत्पादन गर्ने गरेपनि बजार प्रबद्र्धन गर्ने योजना भने बनाउन सकेको छैन । सिंहदरबार वैद्यखाना विकास समितिले स्रोत र साधनको पनि उस्तै अभाव झेल्दै आइरहेको छ । सीमित स्रोत र साधनकै कारण यसले आयुर्वेदिक औषधि लगायत वस्तुहरूको खोज तथा अनुसन्धान समेत गर्न सकिरहेको छैन । अर्कोतिर औषधि तथा वस्तुहरू उत्पादन गर्ने अत्याधुनिक प्रविधि वैद्यखानासँग छैन ।

एकातिर भारतीय कम्पनीहरुको बोलवाला भईरहेको बेला सरकारलाई आफ्नै कम्पनी डुब्न लागेकोमा कुनै चिन्ता छैन । प्रधानमन्त्री स्वयं रामदेवको पतञ्जली उद्घाटन गर्न जान्छन् तर आफ्नै देशको सिंहदरबार वैद्यखाना डुब्न लागेकोमा कुनै वास्ता गर्दैनन् । वैद्यखानालाई २५ देखि ३० करोडको आवश्कता भएपनि सरकारले हाल २ करोड मात्रै बजेट दिएको गुनासो त्यहाँका कर्मचारीहरुको छ ।

Related posts

Leave a Comment