प्रधानमन्त्रीको आदेशपछि रोकियो डा. जागेश्वर गौतमको सरुवा

कोभिड युनिफाइड केन्दीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशमा रोकिएको छ ।

प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका हुन् । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले पनि प्रधानमन्त्री कार्यालयबाट निर्णय कार्यान्वयन नगर्न निर्देशन आएको पुष्टि गरेका छन् ।

सोमबार राज्यमन्त्री श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रसूति अस्पतालमा सरुवा गरी उनको ठाउँमा डा. रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए । तर, प्रधानमन्त्रीको निर्देशनमा तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्ने भनिएपछि सरुवा सम्बन्धी पत्र तयार नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए । मंगलबार डा. गौतमसहित चारै जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय प्रधानमन्त्रीले स्थगित गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार