गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएको उनको भनाइ थियो ।

उनले अघिल्लो सरकारले ल्याएको गुठी विधेयकको उद्देश्य राम्रो भए पनि सबै समस्यालाई मिलाउँदा समस्या भएको र फिर्ता लिनुपरेको बताइन् ।

‘सरोकारवालासँग छलफल गरेर गएको भए गुठी विधेयकमा समस्या आउँदैनथ्यो कि ?’ उनले भनिन्, ‘हामी समन्वय गरेर अघि बढ्छौ । गुठी विधेयकको उद्देश्य राम्रो थियो । तर एकै ठाउँमा सोलोडोलो सबै समस्यालाई मिसाउँदा विवादमा पर्योौ ।’ हिजो आफू राज्य व्यवस्था समितिमा हुँदा मन्त्रीहरूलाई गुठीका बारेमा प्रश्न गर्ने गरेको भन्दै श्रेष्ठले थपिन्, ‘आज म त्यहीँ मन्त्री छु । म गर्ने ठाउँमा छु । सबै प्रयत्न गर्छु ।’

आफू गुठीको समस्यामा केन्द्रीत रहेको र सरोकारवालासँग छलफल गरिरहेको पनि उनले जानकारी गराइन् । यसका लागि आफूले पूर्वमन्त्रीहरु, पूर्वसचिवहरू, डिजीहरूसँग छलफल गरिरहेको र एउटा रोडम्याप तयार पारेर अघि बढ्ने बताइन् । ‘राम्रो काम जसले गरेको छ, स्वामित्व लिएर जान्छु,’ उनले भनिन् । यद्पि अहिले संसद अधिवेशन छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार