लक्ष्मी परियार मृत्यु प्रकरणः श्रीमनसहित चार जना विरुद्ध ज्यान मुद्दा, प्रहरी ईन्चार्ज परिवर्तन

टिभी अन्नपूर्ण २९ मंसिर, काभ्रे ।

बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेको घटनामा मिलापत्र गराउने प्रहरी इन्चार्ज कारवाहीमा परेका छन् ।

काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारलाई बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेको घटनामा मिलापत्र गराउने प्रहरी चौकीका इन्चार्ज असइ प्रेमपुकार चौधरी जिल्ला तानिएका छन् ।

घटनाको विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले समेत गम्भीरताका साथ अनुसन्धान गर्न प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी चौकी चौबासका इन्चार्ज असइ चौधरीलाई जिल्ला तानिएको छ भने आजदेखि नयाँ इन्चार्ज पठाइने काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिए ।

स्थानीय शिक्षक हिरा लामाको नेतृत्वमा विद्यालयको पोलमा बाँधेर कुटपिट गरी दिसा खुवाएको तेस्रो दिन प्रहरीले मिलापत्र गराएको थियो, चौथो दिन महिलाको मृत्यु भएको थियो ।

दुव्र्यवहार भएपछि न्याय माग्न आएका पीडितलाई प्रहरी इन्चार्जले आफूहरूले महिलाको विषय नहेर्ने भन्दै फर्काइदिएका थिए । तर, गाउँमा गएका प्रहरी इन्चार्जले थप अनुसन्धान गर्नुको सट्टा मिलापत्र गराएका थिए । मिलापत्र कागजमा बोक्सी र मलमूत्रको केही कुरापनि लेखिएको छैन ।

‘निवेदन र मिलापत्रको कागज हेर्दा बोक्सीको विषय कतै देखिएको छैन,’ एसपी थापा भन्छन्, ‘तर पनि आरोप लागेपछि वास्तविकता बुझ्न उनलाई जिल्लामा ल्याइएको हो ।’ नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै चिर्पटले हानेर घाइते बनाइएकी लक्ष्मी परियारको मृत्यु भएको पाँच दिन बित्दा पनि पोस्टमार्टम भएको छैन । शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमनपछि मात्र पोस्टमार्टम गर्न आग्रह गरेकाले रोकिएको प्रहरीले जनाएको छ ।

गत २० मंसिरमा सूर्योदय स्कुलको प्रांगणको पोलमा बाँधेर लक्ष्मीलाई कुटपिट गरी मलमूत्र खुवाइएको राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुगमनबाट पुष्टि भइसकेको छ ।

श्रीमानसहित चारविरुद्ध ज्यान मुद्दा

काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको हत्या आरोपमा प्रहरीले उनका श्रीमानसहित चारजनाविरुद्ध ज्यान मुद्दा अघि बढाएको छ । बोक्सीको आरोप लगाउँदै स्कुलको पोलमा बाँधेर मानव मलमूत्र खुवाउँदै कुटपिट गर्ने स्थानीय शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया लामा, सोही गाउँकी निरमाया तामाङ र लक्ष्मीका श्रीमान् मिलनलाई अदालतमा पेस गरी थुनामा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

स्थानीय महिला निरमायाले लक्ष्मीलाई बाँध्न डोरी दिँदै हीरा लामालाई सहयोग गरेकी थिइन् । मिलनले आफूले श्रीमतीलाई कुटेको स्विकारेका छन् । हत्यामा चारजनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान अघि बढाइएको एसपी सहकुल थापाले बताए ।

Related posts

One thought on “लक्ष्मी परियार मृत्यु प्रकरणः श्रीमनसहित चार जना विरुद्ध ज्यान मुद्दा, प्रहरी ईन्चार्ज परिवर्तन

Leave a Comment