यस कारण नेपालीका लागी चक्करमा घनचक्कर बन्यो सन् २०१६

000000

टिभी अन्नपूर्ण १७ पुस, काठमाडौं ।

अहिले विश्व जगत सन् १०१६ लाई समापन गरेर नयाँ वर्षलाई स्वागत गरिरहेको छ ।

शनिबार अंग्रेजी वर्ष सन् २०१६ को सकियो । आईतबारबाट नयाँ वर्ष २०१७ लागेको छ । अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न विश्वभर विभिन्न कार्यक्रम भईरहेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा अहिले जताततै पुरानो वर्षको समिक्षा तथा नयाँ वर्षमा गर्नुपर्ने कार्यको बारेमा लेखाजोखा भईरहेको छ । कसैले पुरानो वर्षमा उत्साहका साथ विदाई गरे । कसैले २०१६ लाई निकै दुःखदायी वर्ष भएको ठहर गरे । तर अबको नयाँ वर्ष कस्तो रहने भन्नेमा त भविश्यले बताउँला । अहिले हामी नेपाल नेपालीको लागी २०१६ कस्तो रह्यो भन्ने कुरामा चर्चा गर्दैछौ ।

२०१६ लाई विदाई गरेर नयाँ वर्षको पूर्वसन्ध्यामा हामी गुज्रिरहेका छौ । शनिबारमात्रै विदाई गरिएको २०१६ नेपाल र नेपालीको लागि उत्साह र उमंगभन्दा पनि निराशा र अस्थिरताको वर्ष हुन पुग्यो । लामो समयपछि नेपालीले संविधान पाए । संविधान पाएपनि जनताले राम्रोसँग खशियाली मनाउन पाएनन् । सन् २०१६ सुरु हुँदा नेपालीले उपहार स्वरुप ६ महिना लामो नाकाबन्दी पाए ।

संविधान लागू भईसकेपछि कार्यान्वयन हुनुको त कुरै छाडौ, आफ्नो मागहरु नसमेटिएको भन्दै नेपालीले नाकाबन्दीका सिकार हुनुपर्‍यो । संविधानको कार्यान्वयन गर्दै चुनावको वातावरण र विकास निर्माणको कामले गति लिनुपर्ने बेला त्यस्तो हुन सकेन । दलहरु अझै आपसी खिचातानी र आरोपप्रत्यारोपमा छन् । सन् २०१७ लाई धुमधामका साथ स्वागत गर्नको साटो राजनीतिक अवस्था झन् धुमिल हुन पुगेको छ । सन् २०१६ मा नेपालमा भएका मुख्य घटना यस्ता छन्ः

छ महिने लामो भारतीय नाकाबन्दीः
सन् २०१६ नेपालीको लागी ज्यादै कष्टकर बर्ष बन्यो । लामो समयको प्रयासपछि जनताले बनाएको संविधान घोषणा हुँदादेखि नै विरोध सुरु भयो । संविधान कार्यान्वयन गर्नुको साटो संविधानका पानाहरु जलाईए, च्यातिए ।

हेर्दा हेर्दै संविधानको विरोधमा नेपालमाथी विदेशी हस्तक्षेप बढेर सिमा नै नाघ्यो । नेपालमा संविधान जारी गर्दा भारतले नेपालमाथी नाकाबन्दी लगायो । संविधान घोषणापछि चिढिएको भारतले फेबु्रअरी ६ अर्थात माघ २३ गतेदेखि नाकाबन्दी हटाएको थियो । संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले गरेको आन्दोलनका कारण ५२ जनाको ज्यान गयो ।

नाकाबन्दी हटेपछि गएको फागुन ७ गतेदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरे । त्यो भ्रमणमा नेपालले भारतको बिशाखापटन बन्दरगाह पनि प्रयोग गर्न पाउने महत्वपूर्ण सम्झौता भयो ।

कांग्रेस सभापति कोईरालाको निधन र देउवाको आगमनः
नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सन् २०१६ फेब्रअरी ९ अर्थात माघ २६ गते निधन भयो । संविधानसभावाट संविधान जारी गरी नेपालीलाई हाँसोको श्वास फेर्न दिएका सभापति कोइरालाको निधनले कांग्रेस पार्टीलाई ठूलो धक्का लाग्यो ।

२०१६ मै नेपाली कांग्रेसको १३ औ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । फागुन २० देखि काठमाडौंमा सुरु भएको महाधिवेशनले रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भए । ६०/४० को भागबण्डाबाट गुज्रिरहेको नेपाली कांग्रेस अहिले विभिन्न गुट उपगुटमा विभाजन भयो । सभापति देउवाले पार्टीलाई एकढिक्का भएर लैजाने भन्ने घोषणा पुरा हुन सकेन् । पार्टी अहिलेपनि गुट उपगुटको राजनीतिबाट चलिरहेको छ ।

नाकाबन्दीको पाठ, चीनसँग पारवान सम्झौताः
सन् २०१६ को सुरुवातसँगै बेहोरेको भारतीय नाकाबन्दीले नेपालीलाई एक पाठ सिकायो । हरेक कुरामा भारतको मात्र भर परिरहेका नेपालले उत्तरी छिमेकी चीनसँग पनि आफ्ना हात अगाडी बढाउने अवसर पायो । नेपालले चीनसँग पारवान सम्झौता गरेको थियो ।

गएको मार्च २१ अर्थात चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पारवाहन लगायत १० वटा महत्वपूर्ण सम्झौता भयो । त्यस्तै पेट्रोलियम पदार्थको आयात गर्ने समेत सम्झौता भयो । जसले गर्दा भारतको मात्र भर पर्नुपर्ने वाध्यता हट्यो । तर त्यो सम्झौता कागजमा मात्र सिमित रह्यो । त्यसको फाईदा नेपालले लिन सकेन् ।

कार्यकारीमा प्रचण्डको आगमन, ओलीको बर्हिगमनः
अक्टोबर ५ अर्थात साउन १९ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्दै कांग्रेस– माओवादीले प्रचण्डको नेतृत्वमा सरकार बनाए । ओलीको वर्हिगमनसँगै एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा उभियो । सरकारका हरेक क्रियाकलाप नजिकबाट नियाल्दै गयो ।

यो वर्ष लोकमानसिंह कार्कीको निकै चर्चाः
सन् २०१६ मा धेरै चर्चा भएका मध्ये एक हुन् अख्तियार प्रमुख लोकमानसिंह कार्की । उनी देशकै एक सशक्त मानिएको संवैधानिक निकाय अख्तियारको प्रमुखमा रहेपछि उनको क्रियाकलाप निकै चर्चामा नै थिए ।

कार्कीले पटकपटक सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै व्यक्तिगत रीसिबी राखेर काम गर्न थालेपछि कात्तिक ३ गते एमाले र माओवादीका सांसदले महाअभियोग प्रस्ताव दर्ता गरे । एक्कासी महाअभियोग प्रस्ताव ल्याएपनि संसदमा त्यसको छिनोफानो गर्न भने ढिलाइ भइरहेको छ ।

संविधान संशोधनको प्रस्ताव दर्ता र विरोधः
सुरुदेखि नै संविधानप्रति असन्तुष्टि राख्दै आएका मधेसी मोर्चाको माग पूरा गर्न सरकारले मंसिर १४ गते अर्थात नोभेम्बर २९ तारिखमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गनाकाबन्दीयो । संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले डिसेम्बर १ अर्थात मंसिर १६ गते देखि थालेको संसद अवरोध अझै जारी छ ।

अहिले दलहरुबीच संविधान संशोधन प्रस्तावलाई थाती राखेर भएपनि निर्वाचनमा जानुपर्ने विषयमा छलफल भईरहेको छ । प्रमुख दलका शीर्ष नेताहरुबीच यस्तो छलफल भईरहेको बेला मधेशी मोर्चाले भने संशोधन प्रस्ताव पारित नभए कुनैहालतमा निर्वाचन हुन नदिने मनसायमा रहेको छ

Related posts

Leave a Comment