चन्द्रागिरिमा स्थापना भयो, पृथ्वीनारायण शाहको मूर्तिचित्र

chandragiri

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं ।

चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको मूर्तिचित्र अनावरण गरिएको छ ।

चन्दागिरी हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा मूर्तिचित्र स्थापना गरिएको हो । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीले एक कार्यक्रमकाबीच अनावरण गरेका हुन् । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धित रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको हो । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकाका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनका दिव्योपदेशमा उल्लेख गरिएको छ ।

chandaragiri-1

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक मेहनत र निरन्तरको परिश्रमपछि परियोजना सम्पन्न भएको जानकारी दिँदै परियोजना निर्माणमा स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंशा गरे । पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतमा उहाँको २९५ औं जन्मजयन्तीका अवसरमा मूर्तिचित्र निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष ढकालले चन्द्रागिरि हिल्स लिमिटेड सम्पूर्ण पर्यटकहरुका लागि सजिलो गन्तब्य बन्दै गएको जानकारी दिए ।

चन्द्रागिरि हिल्स लिमिटेडका संचालक हेमराज ढकालले देवादीदेव महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वी परिक्रमा गर्दा सतीदेवीको भाल अर्थात निधार पतन भएर भालेश्वर महादेव उत्पति भएको भन्ने कुरा स्वस्तानी कथामा बर्णन गरिएकाले धार्मिक पर्यटनका दृष्टिले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ । चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ ।

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वत धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाईलाई एक दिन लम्ब्याउने उद्देश्यले यस पर्वतमा चन्द्रागिरि हिल्स लिमिटेडको स्थापना भएको हो ।

समुद्री सतहबाट करिव १५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरि फेदीबाट केबलकार चढेर २५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ । म्यानुअल बाल उद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हल सहित निर्माण गरिएको चन्द्रागिरि पर्वतबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृङ्खला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ्ग, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ । संभवत नेपालको पहिलो अपांङ्ग मैत्री भौतिक संरचना यहाँको अर्को विशेषता हो ।
गत साउन २४ गतेबाट व्यवसायीक संचालनमा आएको चन्द्रागिरि केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मङ्सिर ३० गते उद्घाटन गरेका थिए ।

विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघण्टा एक हजार जनासम्मयात्रु बोक्ने क्षमता राख्दछन् । केबलकार संचालनमा आएदेखि २०७३ साल पौष २५ गतेसम्म २ लाख ८२ हजार ४ सय ३० जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसकेका छन् ।

Related posts

Leave a Comment