हिउँ चितुवा पाइने देशका वन मन्त्रीहरु नेपाल आउँने

image

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

‘हिउँ चितुवा पाइने देशहरुको मन्त्रिस्तरीय बैठक नेपालमा हुने भएको छ ।

सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयास: प्रगति र आगामी कदम’ बारेमा हिउँ चितुवा पाइने देशको मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको हो ।

‘हिउँ चितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जिएसएलइपी) तथा सर्वेक्षण कार्यशाला’ र त्यससम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठक हुने वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ ।

विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

सबै देशबाट मन्त्री र उच्चस्तरीय प्रतिनिधिको सहभागिता रहने निश्चित भएको मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए । बैठकमा आगामी योजनाको लागि स्रोत परिचालन रणनीतिको पहिचान गर्ने, हिउँ चितुवाको अवैध चोरी सिकार तथा व्यापारविरुद्ध जुध्न साझा विचार विकास गर्ने र हिउँ चितुवासम्बन्धी अध्ययन अनुसन्धानमा पहलकदमी लिनेलगायत मुख्य विषयमा छलफल हुने बताए ।

सहसचिव ढकालले सम्मेलनले जैविक विविधता संरक्षण, नेपालको पर्या–पर्यटनमा टेवा, निजी क्षेत्रलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । जिएसएलइपी हिउँ चितुवा पाइने १२ वटा देशका नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी सङ्घ संस्थाको संयुक्त प्रयास हो । यसको प्रमुख उद्देश्य हिउँ चितुवालाई आफ्नो प्राकृतिक बासस्थानमा जोगाइ राख्नु हो ।

यसको सुरुवात किर्गिजिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा सन् २०१३ माभएको हिउँ चितुवा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जारी भएको ‘विश्केक घोषणा पत्र’ भएपश्चात भएको हो ।

जिएसएलइपी उच्चस्तरीय सञ्चालन समितिको नेतृत्वदायी भूमिकामा सन् २०२० सम्ममा हिउँ चितुवाको सुरक्षित बासस्थान सुनिश्चित गर्ने उद्देश्यले हिउँ चितुवा पाईने देशहरुले २३ वटा भू–दृश्यको पहिचान गरेका छन् । बैठकमा समिति सदस्यले यस्ता भू–दृश्य सुरक्षित गर्न के–कति सफलता मिल्यो भनी पुनरावलोकन गर्नुका साथै आगामी कदम र प्राथमिकताको पहिचान गर्नेछन् ।

समितिले सन् २०१७ को मध्यतिर किर्गिजिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा हुने हिउँ चितुवासम्बन्धी शिखर सम्मेलन र हरित लगानी मञ्चका लागि एजेण्डा तयार पार्नेछ ।

हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरिरलाई सन्तुलन गर्छ ।

चार दिनसम्म चल्ने बैठकमा सबै देशबाट आउने उच्चस्तरीय सरकारी प्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ताको बृहत छलफलपछि हिउँ चितुवा संरक्षणका प्रभावकारी कदमसहितको काठमाडौं घोषणापत्र जारी हुनेछ ।

Related posts

Leave a Comment