वन बिरालोलाई थापेको पासोमा चितुवा

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको दहचोकमा कुखुराको खोरमा चितुवा पसेको छ । कुखुराको खोरमा बन विरालोलाई थापेको पासोमा चितुवा परेको हो ।१० घण्टासम्म पासोमा अल्झिएको चितुवाको बिहान वन कार्यालय र प्रहरीको टोलीले उद्धार गरेको छ । चितुवालाई उद्धार गरेर चिडियाखाना पठाइएको बलम्बु प्रहरीले जनाएको छ ।

दहचोकमा जग्गा भाडामा लिएर तरकारी फार्म सञ्चालन गरेका बलबहादुर बुढाले थापेको पासोमा चितुवा परेको हो । ‘टहरोको छेउमा कुखुराको सानो खोर छ, अस्ति वन बिरालोले दुईवटा कुखुरा खाएपछि हिजो बेलुकी पासो थापेको थिएँ, वन बिरालोलाई भनेर थापेको पासोमा चितुवा पो परेछ’ बलबहादुरले भने ।

खोरको बाहिरपट्टि प्वालमा थापेको पासोमा चितुवा परेको उहाँले गएराति १२ बजेतिर थाहा पाएका थिए । त्यसपछि उनले प्रहरीलाई खबर गरे । प्रहरी र वन कार्यालयको टोलीले आज बिहान ९ बजेतिर चितुवालाई लठ्याएर उद्धार गरेको हो । खोरबाहिर नै चितुवा पासोमा परेकाले कुखुरा भने खान नपाएको बलबहादुरले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार