मुलुकको व्यापार घाटा डरलाग्दो : अर्थतन्त्र निराशाजनक अवस्थामा

फागुनमा थप दबाब

काठमाडौं । मुलुकको व्यापार घाटा निराशाजनक अवस्थामा पुगेको छ । अर्थतन्त्रमा सुधारका कुनै पनि संकेत देखिएको छैन ।आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा रु १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ । चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत छ ।
यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरेर रु एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात रु एक खर्ब चार अर्ब १३ करोड बराबर थियो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार सात महिनाको कूल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष त्यस्तो आयात नगन्य रुपमा मात्रै बढेको थियो । विवरण अनुसार भारतबाट ३१ प्रतिशत, चीनबाट ४२.३ प्रतिशत र अन्य देशबाट ८३.८ प्रतिशतले आयात बढेको छ ।
पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायाताका साधन तथा पाटपूर्जालगायतका सामानको आयात बढेको छ । त्यस्तै एसउम बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात बढेको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म मुलुकको भुक्तानी अवस्था (शोधनान्तर स्थिति) २ खर्ब ४७ अर्ब ३ करोड घाटामा छ । गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई नै शोधनान्तर स्थितिले जनाउँछ । चालु खाता घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको माघमा १ खर्ब ४ अर्ब घाटा थियो ।
रेमिट्यान्सको गिरावट दर यथावत् छ । साउनदेखि माघ मसान्तसम्म ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशत कम हो । गत वर्ष यस अवधिमा ५ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
मुलुकको व्यापार घाटा डरलाग्दो छ । सात महिनामा कुल ११ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु आयात भएकामा १ खर्ब ३१ अर्ब रुपैयाँको निर्यात भएको छ । यस आर्थिक वर्ष माघसम्म मुलुकको व्यापार घाटा १० खर्ब १५ अर्ब छ । समीक्षा अवधिमा निर्यात ८८ प्रतिशत बढेको देखिन्छ भने आयात ४२.८ प्रतिशतले बढेको छ । सोयाबिन तथा पामको कच्चा तेल आयात गर्ने र नेपालमा प्रशोधन गरी फेरि निर्यात गरिँदा निर्यातको वृद्धिदर उच्च देखिएको हो ।

निर्यात पनि बढ्यो
आयातको तुलनामा थोरै भएपनि निर्यातको मात्रामा पनि वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार चालु आवको सात महिनाको अवधिमा वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फको निर्यात ११३ प्रतिशतले बढेको छ । तर, उत्तरी छिमेकी चीनतर्फको निर्यात भने १२.४ प्रतिशतले घटेको छ । अन्य मुलुकतर्फको निर्यातमा पनि २७.७ प्रतिशतले वृद्धि भएको छ ।
नेपालबाट पाम तेल, सोयाविन तेल, पिना, धागो, जुसलगायतका बस्तुको निर्यात बढेको छ । त्यस्तै नगदे बालीको रुपमा रहेको अलैची, चिया, जडीबुटीको निर्यात घटेको छ । तामाको तार र अन्य फलामे तारको समेत निर्यातमा पनि कमी आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार