अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य

बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन् । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।
“अदुवा खरिद नगर्ने बाहनामा भारतले कृषकलाई दुःख दिँदै ल्याबटेस्ट प्रमाणित गरेर अदुवा ल्याउन निर्देशन दिने गरेको छ, गाउँमा यस्ता प्रविधि भित्रिएको छैन, कृषकले अदुवा बोकेर ल्याबटेस्ट गर्न कहाँ जाने हो ? नेपाली अदुवाको बजार समस्याको बाधक भारत सरकार बनेको छ”, उनले भने ।

उनका अनुसार प्रतिकिलो रु १०० मा बीउ खरिद गरेर अदुवा लगाए पनि कृषकले बिक्री गर्नुपर्दा रु २० देखि ३० पनि नपाउने अवस्था छ । उत्पादन भएको अदुवा तत्काल बिक्री नभए पनि भण्डारण गरेर वैशाख १५ देखि असार १५ सम्म सुरक्षित साथ राख्न सकेको खण्डमा त्यसपश्चात् अदुवाले राम्रो मूल्य पाउने कृषक बस्यालको अनुभव छ । तर यहाँ भण्डारणको कुनै व्यवस्था छैन ।

पाल्पामा अदुवाखेती नगदेबालीका रुपमा स्थापित भएको छ । उत्पादनको हिसाबले नेपाल विश्वमा तेस्रो मुलुकमा पर्छ भने पाल्पा अग्रणी जिल्ला मानिन्छ । अन्य जिल्लामा उत्पादन भएको अदुवाको तुलनामा यहाँको अदुवाको छुट्टै विशेषता छ, प्रतिकिलो रु पाँच बढीले बजारमा बिक्री हुन्छ । पछिल्ला वर्षमा भने अदुवाले बजार नपाएको गुनासो बढेको छ ।

एक धार्नी अदुवाले रु २० देखि २५ मूल्य पनि नपाउने अवस्था रहेको बताउँछन्, अदुवा व्यवसायी समिति (जोन कार्यक्रमअन्तर्गत) अध्यक्ष हेमबहादुर खाम्चा । उनी भन्छन्,, “गाउँमा अदुवाको प्रशस्त उत्पादन हुन्छ, आयआर्जनको बलियो स्रोत अदुवाखेती हो, तर उत्पादित अदुवाको बजार नहुँदा कृषकको मेहनतले प्रतिफल नपाएको अवस्था छ, बजारीकरणको व्यवस्था सम्बन्धित निकायले मिलाउनुपर्छ ।”

यहाँका ग्रामीण भेगका धेरै कृषकको साँझ बिहानको गुजारा चलाउने माध्यम अदुवा व्यवसाय हो । वर्षेनी जिल्लामा ठूलो परिमाणमा अदुवा उत्पादन हुन्छ । जिल्लामा अदुवा प्रशोधन केन्द्र छैन । अदुवा उत्पादन हुने बेला भएपछि वर्षेनी कृषकलाई भारत बजार नै पर्खनुपर्ने अवस्था छ तर भारतले सहजै अदुवा खरिद नगरेको बताउँछन्, निस्दी गाउँपालिका–७ बस्ने तुलबहादुर सारु ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पाल्पाले यस वर्षदेखि अदुवाखेती प्रवद्र्धन गर्न विभिन्न पालिकामा ब्लक तथा जोन कार्यक्रम सुरु गरेको छ । अदुवाको बीउबिजन अनुदान शीर्षकमा रु ५० लाख, भण्डारण प्रशोधनमा रु पाँच लाख, यान्त्रिकरण र सिँचाइमा रु १५ लाख, जिल्लास्तरीय तालिमतर्फ रु एक लाख ४४ हजार, समिति गठन र परिचालनमा रु ८३ हजार, उत्पादकत्व निर्धारणतर्फ रु सात हजार गरी विभिन्न शीर्षकमा करिब रु ८२ लाख ३४ हजार रकमको काम हुँदैछ ।

बिक्रीका लागि भारतकै भर पर्नुपर्दा पछिल्ला वर्षमा जिल्लामा अदुवाको उत्पादन घट्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराई बताउछन् । अदुवा खेतीलाई प्रवद्र्धन गर्दै कार्यालयले यसै वर्षदेखि रामपुर, निस्दी, पूर्वखोला र बगनासकालीमा जोन कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिए ।

“अदुवालाई विविधीकरण गर्न नसक्दा बजार अभावमा कृषकले अदुवा कुहाउन बाध्य भएका छन्, कार्यालयले कृषकको माग र चाहनाअनुसार उत्पादनका आधारमा अदुवा विविधीकरणमा गर्ने, भण्डारण केन्द्र र प्रशोधन प्रविधिमा सहयोग कार्यक्रम अगाडि बढाइएको छ”, उनले भने।

पाल्पामा कूल ८७५.२१ हेक्टर क्षेत्रफलमा अदुवाखेती गर्ने गरिएको कार्यालयको तथ्याङ्क छ । जसअन्तर्गत तानसेन नगरपालिकामा ११२, रामपुर नगरपालिकामा ६०, रैनादेवी छहरा गाउँपालिकामा ५६, रिब्दिकोटमा १४.१६, बगनासकालीमा ३३७, निस्दीमा २७७, तिनाउमा ११.७, पूर्वखोलामा ९८, रम्भामा ४.८५ र माथागढीमा ३३.५ हेक्टर क्षेत्रफल अदुवाखेतीले ढाकेको छ । यहाँ वार्षिक उत्पादकत्व १२ टन रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

रामपुर नगरपालिकाको–१ मा अदुवा बेसार पकेट कार्यक्रमअन्तर्गत १४० रोपनी क्षेत्रफलमा खेती गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । उनका अनुसार सबैजसो वडामा अदुवाखेती हुने गरे पनि व्यावसायिक हिसाबले नगरको १, ७ र ९ वडा अदुवा पकेट क्षेत्रका रुपमा रहेको छ । पूर्वखोला गाउँपालिकामा ७० हेक्टर क्षेत्रफलमा यो वर्ष अदुवा ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक सन्तोष कँडेल बताउछन् ।

भारत सरकारले समयमा नै अदुवा खरिद नगर्ने, कृषकको लागत मूल्य नै नउठ्ने गरी अदुवाको मूल्य कायम गर्दा कतिपय कृषकले बारीमै अदुवा कुहाउन बाध्य छन् । उत्पादनसँगै भण्डारणको राम्रो व्यवस्था भएमा अदुवाले राम्रै बजार पाउँछ ।

पाल्पा जिल्लामा २७ वर्षदेखि अदुवाको व्यावसायिक खेती गरिएको छ । जङ्गली जनावरले नखाने, नगदेबालीका रुपमा रुपमा रहेको अदुवालाई भण्डारण गरेर राख्ने, विभिन्न प्रविधिबाट विविधीकरणको व्यवस्था गर्न सकियो भने यसले राम्रै लाभ लिन सकिन्छ । भण्डारणको व्यवस्था ठाउँठाउँमा व्यवस्था गरेमा अदुवा नबिक्ने समस्या हट्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार