चन्द्रागिरी केबुलकार पर्यटन विकासको आधार :अध्यक्ष चन्द्र ढकाल (भिडियोसहित)

टिभी अन्नपूर्ण

२० पुस, काठमाडौँ ।

चन्द्रागिरी केबलकार नेपालमा गएको विनाशकारी भुकम्पपछि नेपालको पर्यटन क्षेत्रमा भएकोे सबैभन्दा महत्वपूर्ण ठूलो उपलब्धि हो । यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ । ५० लाखको हाराहारीमा रहेको काठमाण्डांैको जनसङ्ख्यालाई स्वच्छ हावा र मनोरम वातावरण सहितको फुर्सदिलो समय बिताउने चाहना पुरा गरिदिएको छ । यस बाहेक बार्षिक नेपाल भित्रिने १० लाख पर्यटकले चन्द्रागिरी हिल्समा पुगेर १ रात मात्रै बिताएभने यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।

सन् २०११ देखि शुरु गरिएको चन्द्रागिरी केबलकार परियोजनाको झण्डै ७ बर्ष लगाएर गएको साउनमा निर्माण सम्पन्न भयो । साउन २४ देखि विधिवत् रुपमा सञ्चालनमा आएको केबलकारको औपचारिक शुभारम्भ मंसिर ३० गते भएको थियो । चन्द्रागिरी हिल्सका अध्यक्ष एवं सफल व्यवसायी चन्द्रप्रसाद ढकालले काठमाडौं र काठमाडौं बाहिर रहेका आम नेपाली जनताका लागि चन्द्रागिरी घुम्नैपर्ने ठाउँ रहेको बताउनुभएको छ । मलेसियामा रहेको एक डाँडोलाई एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको थियो त्यसैको अवधारणा अनुसार चन्द्रागिरीलाई सिंगो पर्यटनको हब बनाउने उद्देश्यले केबुलकारको विकास गरिएको अध्यक्ष ढकालको भनाई छ ।

आईएमई ग्रुपका अध्यक्ष समेत रहनुभएका ढकालले काठमाडौंमा घुम्नका लागि छुट्टै स्थानको अभाव रहेको अवस्थामा आफूहरुले यही चन्द्रागिरीलाई रोजेको बताउनुभयो । अध्यक्ष ढकाल भन्नुहुन्छ, ‘नेपालमा वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । चन्द्रागिरीको माध्यमबाट नेपाल आउने दश लाख पर्यटकहरुको कम्तिमा एक दिन मात्रै बसाई लम्बाउन सकिन्छ कि भनेर योजना अनुसार यसको विकास गरेका हौं ।’ त्यस्तै काठमाण्डौमा रहेका मानिसहरुलाई उनीहरुको परिवार र बच्चासहित घुम्ने स्थानका रुपमा चन्द्रागिरीको योजना अघि सारेको अध्यक्ष ढकाल बताउनुहुन्छ ।

चन्द्रागिरी पर्यटनका हिसाबले मात्रै नभई धार्मिक र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण ठाउँ हो । नेपालको एकीकरण ताका पृथ्वीनारायण शाहले काठमाडौंको अवलोकन गर्नका लागि चन्द्रागिरी डाँडोमा आउने गरेको बताईन्छ । चन्द्रागिरीमा भालेश्वर शिवको मन्दिर पनि रहेको छ । चन्द्रागिरी हिल्स कम्पनीले काठमाडौंको अवलोकन गर्न भ्यु टावरको व्यवस्था पनि गरेको छ । दैनिक १० हजार मानिसहरुलाई बोक्न सक्ने क्षमता छ चन्द्रागिरी केबुलकारको । नेपाल आउने हरेक पर्यटकलाई चन्द्रागिरी घुमाउने योजना अनुसार केबुलकारको विकास गरिएको अध्यक्ष ढकालले बताउनुभयो । पर्यटन प्रबद्र्धनका लागि चन्द्रागिरी केबुलकार विकासको कोसेढुंगा रहेको उहाँको भनाई छ । अध्यक्ष ढकालसँग टिभी अन्नपूर्णले गरेको कुराकानीको सारसंक्षेप :

हेर्नुस यो भिडियो :

Related posts

Leave a Comment