गरिब देशमा मन्त्री र सचिवहरुको लुट, राज्यमा किनिंदैछ अर्बौंको गाडी

टिभी अन्नपूर्ण ।
काठमाडौं, २३ पुस । एकातिर भूकम्प पीडित जनता चिसोमा कठ्याईंग्रिएर दिन काट्नु परेको छ । लाखौं जनता अझैपनि टहरोमा बास बस्नुपरेको छ । सरकारले उनीहरुको व्यवस्थापन अझैसम्म गर्न सकेको छैन । चिसोका कारण भूकम्प पीडितहरुको अवस्था दयनीय बन्दै छ । यसरी एकातिर भूकम्प पीडितको अवस्था डरलाग्दो छ भने अर्कोतिर सिंहदरबारमा बस्ने मन्त्री र सचिवहरु मिलेर चाहिंदै नचाहिने करोडौंका गाडीहरु किन्ने तयारी गर्दैछन् ।
भूकम्प आएका बेला विदेशी दाताहरुले दिएको पैसा समेत सही सदुपयोग गर्न नसकेका बेला मन्त्रालयका मन्त्री र सचिवहरुले करोडौं मूल्यका गाडीहरु किन्ने तयारी गरेका हुन् । भूकम्प पीडित जनतालाई घर बनाउन ऋण उपलब्ध गराउने र हिउँदअघि नै न्यानो घर उपलब्ध गराउने उद्घोषसहित सत्तासीन भएको यो सरकार अत्याधुनिक र सुविधासम्पन्न विलासी गाडीको निम्ति ४ अर्ब खर्चने तयारीमा छ ।
केही मन्त्रालयले भने आफ्नो प्रांगणमा गाडी भित्र्याई सकेका छन् । हालै मात्र वाणिज्य, शान्ति र रक्षा मन्त्रालयले ६०–६० लाख रुपैंया पर्ने विलासी गाडी ल्याईसकेको छ । वाणिज्यमा २, शान्तिमा २, रक्षा मन्त्रालयमा १ वटा गरी पाँचवटा गाडी ल्याइएको हो ।
जानकारी रहोस् सिंहदरबारमा धेरै गाडीहरु नचलाई त्यसै थन्काईएको छ । कतिपय पुराना तर बलिया गाडीहरु सिंहदरबारका मन्त्रालय वरिपरी त्यसै थन्क्याईएको देख्न सकिन्छ । पहिले नै किनिएका यस्ता गाडीहरुलाई बनाएर चलाउन सकिन्थ्यो तर बिलासी गाडी चढ्न पल्केकाहरुले नयाँ गाडी किन्ने तयारी गरेका हुन् ।
रक्षा मन्त्रालयले अझै ४ वटा गाडीहरु नपुगेको भनी खरिद गर्न पैसा मागेको छ । सहकारीमन्त्रीलाई १ वटा गाडी चाहियो भनेर मन्त्रालयले माग गरेको छ । गृह र सञ्चार मन्त्रालयले २ वटा गाडी खरिद गरिसकेका छन् भने थप २ वटा गाडी अझै मागिएको छ ।
उता सामान्य प्रशासनले २, शहरी विकासले ८, उद्योगले पनि मन्त्री र सचिवका नाममा करोडौंका गाडी माग गरेका छन् । मन्त्रालयले मात्रै होईन लोकसेवा आयोग, सर्वोच्च अदालत, मानवअधिकार आयोग, सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता नागरिक आयोग, महान्यायाधिवक्ता कार्यालयले समेत मन्त्रीको सिको गर्दै दर्जनौं महँगा विलासी कार मागेका छन् । लोकसेवा आयोगले ७, सर्वोच्चले ४०, मानवअधिकार आयोगले ५, सत्यनिरूपण र बेपत्ता आयोगले ९, युवा तथा खेलकुद मन्त्रीले २, महान्यायाधिवक्ता कार्यालयले ४०, संसद् सचिवालयले २० कार र जिप चाहिएको पत्र अर्थमा पठाएका छन् ।
सैनिक मुख्यालयबाट माग गरिएको पत्रमा दुई करोड ४५ लाख पर्ने सेडान भिआइपी गाडी सेनापतिका लागि नभई नहुने व्यहोरा छ । अहिले सेनापतिले चढिरहेको गाडी खासै केही भएको छैन तरपनि सेनापतिलाई गाडी चाहियो भन्ने व्यहोराको पत्र अर्थमा गईसकेको छ ।
सेनाको सोही पत्रमा अरु चार वटा गाडी पनि अत्यावश्यक भएको उल्लेख छ । यी गाडीचाहिँ प्रतिगोटा १ करोड ४० लाख पर्ने हुन् । पुराना मर्सिडिज कार बाहिरबाट सामान मगाएर नेपालमा मर्मत गर्दा बढी खर्चालु हुने र सुरक्षाका कोणबाट समेत नयाँ आवश्यक भएको व्यहोरा पत्रमा छ । १ करोड ४० लाख पर्ने ४ वटा गाडीचाहिँ रथीका लागि मगाइएको हो । राष्ट्रपतिका लागि समेत सेनाले १६ करोड पर्ने बुलेटप्रुफ गाडी माग गरेको छ ।
भईरहेका गाडी चढ्नका लागि हिचकिचाउने राज्यका उपल्लातहका व्यक्तिहरुलाई जनता भोकै मरुन् तर केही मतलब छैन जसरी भएपनि गाडी चाहियो भन्ने व्यहोराको पत्र लेखि पठाई सकेका छन् । यसरी राज्यका माथिल्लो तहमा बसेकाहरुले देशको हालत कस्तो छ भनेर बुझिदिनु पर्ने हो तर के गर्ने राज्यलाई भार पर्ने गरी लुट्न पाईएपछि भूकम्पपीडित र गरिब जनताको के मतलब ।

Related posts

Leave a Comment