लोकसेवाले माग्यो ११ सय १२ नायब सुब्बा, प्रशासन तर्फ सबैभन्दा बढी

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं ।

लोकसेवा आयोगले १ हजार १ सय १२ जना नायब सुब्बा माग गरेको छ ।

आयोगको बार्षिक कार्यतालिका अनुसार विभिन्न समूहका लागि एक हजार एक सय १२ जना नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त आह्वान गरिएकामध्ये ४० प्रतिशत खुला प्रतिस्पर्धा र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ ।

आयोगले सबैभन्दा बढी प्रशासन सेवामा माग गरेको छ । प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरेको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि पाँच सय ९२, लेखा समूहका लागि दुई सय २२ र राजस्व समूहका लागि ७७ जना माग गरिएको छ ।

यसैगरी, न्याय सेवातर्फ न्याय समूहका लागि एक सय ६०, सरकारी वकिल समूहमा १६ र कानुन समूहमा ६ जनाको माग भएको छ । यसैगरी, लेखा परीक्षण सेवाका लागि चारजना, परराष्ट्र सेवाका लागि पाँचजना र व्यवस्थापिका–संसद्का लागि खुलातर्फ १६ जना मागिएको छ भने आन्तरिक प्रतिस्पर्धाका लागि २४ जना मागिएको छ ।

आयोगले देशका विभिन्न नौवटा अञ्चल कार्यालय र पाँचवटा क्षेत्रीय निर्देशनालयमार्फत नायब सुब्बाको परीक्षा सञ्चालन गर्नेछ । खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा र दोस्रो चरणको वैशाखमा हुनेछ भने लिखित परीक्षाको नतिजा साउन–भदौमा तथा सिफारिस असोज महिनासम्म गरिने आयोगले जनाएको छ ।

Related posts

Leave a Comment