पृथ्वी जयन्ती मनाउनलाई के को टाउको दुखाई

rajesh-chandra-rajbhandari

राजेशचन्द्र राजभण्डारी 

टिभी अन्नपूर्ण / बाग्लुङ  ।

 नेपाल राष्ट्रको एकीकरणमा रास्ट्र निर्माता पृथ्वीनारायण शाहको भुमिका बारे अहिले फेरि राष्ट्रिय बहस सुरू भएको छ । देशमा २०६२÷६३ को आन्दोलनपछि गणतन्त्र स्थापना २४० बर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य भए पछि प्रत्येक बर्ष पुस २७ गतेका दिन मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस केही बर्षदेखि सरकारी स्तरबाट मनाउन बन्द गरिएको छ । छरिएर रहेको बाईसे चौबिसे राज्यलाई गोर्खाका राजा पृथ्वीनारायण शाहले तत्कालीन समयमा एकीकरण गरि एकीकृत नेपाल जुन बनाए त्यसैलाई सम्झना गरी पृथ्वी जयन्ती मनाउने गरिन्छ । पृथ्वी जयन्ती मनाउने विषयमा नेपालमा अझै सम्म राजनीतिक विवाद भईरहेको छ । अहिले यो बिषय राष्ट्रिय बहस बनेको छ । सरकारले पुस २७ गते एक दिन सार्वजनिक बिदा दिएर पृथ्वी जयन्ती मनाउनु पर्ने माग उठिरहेको छ । यो माग पञ्चेहरुको मात्रै होईन अहिले सिंगै देशका विभिन्न कुना काप्चाबाट उठिरहेको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकोमा कसैको दुई मत छैन तर उनको उति ठूलो योगदानलाई कहिलेका कम्युनिष्ट भन्ने शक्तिहरुले खुलेर प्रशंसा गर्न हिचकिचाउँछन् । राष्ट्र निर्माता भनेर भनिहाले आफूलाई पनि पुरानो सामन्ती भनेर कसैले भनिहाल्छन् कि भन्ने डर भएकोले सबै चुपचाप बस्छन् । सरकारले औपचारिक रूपमा पृथ्वी जयन्ती नमनाए पनि देशैभरि सानो तिनो रूपमा भने मनाउने गरिएको छ । बाग्लुङ उद्योग वाणिज्य संघको ५३ औं साधारण सभामा बाग्लुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जयन्ती नेपाल सरकारले नै मनाउनु पर्ने धारणा राखेर बाग्लुङ जिल्लामा समेत बहसको बिषय बनाएपछि कार्यक्रममा प्रमुख अतिथि भएर आउनु भएका वाणिज्य मन्त्री रोमी गौचन थकालीले कुटनैतिक भाषण मात्रै गरेनन् उनले पनि नेपाल एकीकरणमा पृथ्वीनारायणको भुमिका महत्वपूर्ण भएको भनी स्वीकारेका थिए । पृथ्वीनारायण शाह ७ महिनामै जन्मिए । उनले देशभरि छरिएका बाईसे चौबिसे राज्यलाई जितेर सिँगो नेपाल बनाउन सफल भएको कुरा सबैलाई थाहा नै छ ।

पृथ्वीनारायण शाह ७ महिनाको ठाउँमा १० महिना पछि जन्मिएको भए के हुन्थ्यो त भनी प्रति प्रश्न गर्दै सायद पृथ्वीनारायण शाह नेपालमा जन्मलिन ३ महिना ढिलाई गरेको भए नेपाल एकीकरण हुन ३ महिना ढिलाइ हुने थियो त्यसबेला ब्रिटिश साम्राज्यवादले जरा गाडिरहेको थियो । के थाहा कतै नेपाल नै नरहने पो थियो कि । मन्त्री थकालीले यदि पृथ्वीनारायण शाह नभएको भए आज नेपाल भन्ने देश नै हुने थिएन भन्ने जुन घुमाउरो अभिब्यक्ति दिए तर उनले पुस २७ गते बिदा दिने पृथ्वी जयन्ती मनाउने बारेमा भने प्रवेश गर्न चाहेनन् । हुन त उनलाई पनि अहिले पृथ्वी जयन्ती बारे बोलि हाल्न गाह्रो छ ।

सरकारमा भएको मन्त्रीले कुनै निर्णय नगरी बोल्न पनि नैतिकताले दिंदैन तर पनि उनले दिएको अभिब्यक्ति पुरै कुटनैतिक थियो । हुन त पृथ्वी जयन्ती बागलुङ जिल्लामा पनि मनाउने भनेर समिति नै गठन गरिएको छ यसलाई राजाको रूपमा नमानेर नेपाल एकीकरण कर्ताको सम्झना स्वरूप मनाउन खोजिएको हो । कसैले माने पनि नमाने पनि नेपाल एकीकरण गर्ने सवालमा पृथ्वीनारायण शाहको भुमिका लाई भने स्वीकार नगरी सुखै छैन । ईतिहास जबर्जस्ती मेटाउन खोजेर नमेटिने रहेछ ।

अहिले साँच्चिकै कुरा गर्ने हो भने अहिलेका शासकहरूले नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहको योगदान र भुमिकालाई मेटाउन खोजिरहेको देखिन्छ । हो, अहिले फेरि देश पहिले कै बाइसे चौबिसे राज्य तर्फ फर्कन लागेको महसुस नेपाली जनताले गरिरहेका छन् । अहिले नेपाल संघीय गणतन्त्रमा प्रवेश गरी ७ वटा प्रदेश बनाए पछि अहिले पनि देशले निकाश पाउन सकेको छैन । धेरैले यसलाई पुरानो बाईसे चौबिसे राज्यको नयाँ स्वरूप समेत भनिरहेका छन् । अहिले पनि देशमा आन्दोलन जारी छ । सरकार एकातिर प्रतिपक्ष अर्कोतिर हिंडिरहेको छ । अहिले सामान्य सिमाङ्कनमा कुरा मिल्न सकेको छैन । एकातिर राष्ट्रिय जनमोर्चा नेपालले अहिले भै रहेको संघीयताले देश टुक्रिएर जाने तर्क पेश गरिरहेको छ । हो यसलाई सही ढँगले लैजान सकिएन भने भोलि देश छिन्न भिन्न हुनसक्छ भन्ने कुरालाई मनन गर्नु जरुरी छ । अहिले संविधान संशोधन प्रस्ताव अलपत्र परेको छ । न त अघि बढ्न सक्छ न त पछि नै ।

हाम्रो देशका राजनीतिक दलका नेता सरकार प्रमुख अहिले २१ आंै शताब्दीमा आउँदा पनि २५० बर्ष अघिका शासक जति पनि दूरदर्शी देखिएका थिएनन् । अहिले पनि बिदेशी हस्तक्षेप खुल्लम खुल्ला रूपमा चलेको छ । सबै कुराको छिनोफानो विदेशी प्रभुले नै गर्छन् यहाँ । सरकार ९ महिनामा परिवर्तन हुन्छ । हाम्रो शासकलाई नेपाली जनता भन्दा पनि विदेशी प्रभुकै बिश्वास छ । सरकारमा भए पनि प्रभुकै चाकडी गरिन्छ । तर अहिले देशमा लोकतन्त्र गणतन्त्र आएपछि छिमेकी प्रभु त नेपाली नेताको घर घरमा ढोका ढोकामा बालुवाटार देखि सिंहदरबारमा सिधै पस्ने गर्छन् । कसैले रोक्ने हैसियत राख्दैनन् ।

सबै जना विदेशी प्रभुको अगाडि लाचार छन् । हिजो नेपाल एकीकरण गरी ब्रिटिश साम्राज्यवाद सँग लडाइँ लडेको कुरालाई अहिले पनि स्मरण गर्दै राष्ट्रिय एकता दिवस मनाउनुलाई नराम्रो मान्न सकिंदैन । त्यो मनाउनुको अर्थ नेपालमा राजतन्त्र फर्काउने चलखेल भने हुँदै होईन । पवित्र मनबाट आएको कुरा हो भने राम्रो मान्नु पर्छ ।

तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिएको अभिव्यक्ति मेरा साना दुखले आज्र्याको मुलुक होइन सबै जातको साझा फुलबारी हो सबैलाई चेतना भया भन्ने भनाई अहिले पनि सान्दर्भिक छ । अहिले मुलुकलाई ७ प्रदेशमा विभाजन गरिँदा पृथ्वीनारायण शाहले दिएको उपदेशलाई मनन गर्न सकेमा राम्रो हुने देखिन्छ । हिमाल पहाड तराई समेत भएको प्रदेश बनाउनु बुद्धिमानि हुने देखिन्छ जुन अहिले पनि सबैको माग छ । हामी आफ्नो इतिहास बनाउन चाहनेहरूले अरूको इतिहासलाई पनि मान्न सक्नुपर्छ । होईन भने भोलि गएर हाम्रा नेताहरूको इतिहास पनि यसैगरी मेटिने कुरामा शंका नगर्दा हुन्छ ।

Related posts

Leave a Comment