यस कारण नेपालमा वैदेशिक लगानी आउन सक्दैन

0000000

● शुकदेव चापागाईं /
टिभी अन्नपूर्ण
काठमाडौं ।
नेपालको आर्थिक विकासका लागि नेपालको आन्तरिक स्रोतबाट लगानी जुटाएर अघि बढ्न धेरै गाह्रो छ । राजनीतिक नेतृत्वमा नेपालको विकास गर्ने सोच रहेपनि ईच्छाशक्ति छैन । कतिपय अवस्थामा ऐन कानुनलाई देखाएर कर्मचारीवर्गले विकासका कामलाई अघि बढाउने हिम्मत समेत गर्दैनन् । कुनै विदेशी लगानीकर्ताहरु नेपालमा आएर लगानी गर्ने ईच्छा व्यक्त गरेपनि उनीहरुका लागि लगानीको सरल र सहज वातावरण तयार गरिदिने काम सरकारको भएपनि सरकारले चासो देखाउँदैन ।

विभिन्न मन्त्रालयका सचिव, सहसचिव र अन्य कर्मचारीहरुबीच तालमेल हुँदैन । मन्त्रालयहरुबीच नै समन्वयकारी भूमिका नहुँदा फाइलहरु अड्केको अड्कै गर्दछ । कतिपय नीति र नियमकानुनको हवाला दिएर कर्मचारीहरु जिम्मेवारीबाट पन्छिने गर्दछन् । जसका कारण सरकारले जतिसुकै राम्रा योजना र कार्यक्रमहरु ल्याएपनि आखिर त्यो फेल नै हुने गरेका छन् ।
पछिल्लो समय नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्दो छ । अधिकांश ठूल ठूला कम्पनीहरु लगानी गर्न नेपाल आउन खोजिरहेका छन् । तर उनीहरुका लागि सहजीकरण गर्ने व्यवस्था सरकारले गर्दैन । लगानी पनि खोज्ने तर लगानीको सहजीकरण र सरलीकरण गर्ने व्यवस्था सरकारले नगर्ने भएकाले नै विदेशी लगानीकर्ता वा कम्पनीहरु नेपालमा आकर्षित हुन सकिरहेका छैनन् । भनिन्छ, वैदेशिक लगानी भित्र्याउने सवालमा नीति र नियमकानुनको पक्षबाट नेपालको अवस्था अन्तर्राष्ट्रिय वरियतामा कमजोर छ । नेपालको विकास गर्ने हो भने कतिपय अवस्थामा बाझिएका ऐन कानुन संशोधन गर्नुपर्ने देखिन्छ । वैदेशिक लगानी आकर्षित नहुनुको पछाडि नेपालको ऐन कानुन बाधक रहेको छ ।

shukdev-sir
केही वर्षयता नेपालमा थुप्रै विदेशी लगानीकर्ताहरुले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । तर आशा गरेअनुसार लगानी आउन सकिरहेको छैन । आएका ठूला लगानीहरु पछिल्लो समय सिमेन्ट उद्योगमा मात्रै सीमित भएको देखिन्छ । हालको दशकमा आएको विदेशी लगानीको प्रतिबद्धतालाई विकास र अर्थतन्त्र विस्तारको दृष्टिकोणमा राम्रो संकेत मानिएपनि सरकार र राजनीतिक नेतृत्वको गहिरो सोच नभएका कारण नेपालमा आएको अवसर गुम्दै जाने हो की भन्ने चिन्ता छ ।
हामी राजनीतिक समस्याको गोलचक्रमा फसिरहेका छौं । भुकम्पले क्षति पुर्याएको स्थानमा अझै पुनर्निर्माण गर्न सकिएको छैन । भारतले नाकाबन्दी गर्दा मात्रै करिब साढे ५ खर्बको घाटा नेपालले बेहोर्नुप-यो ।
अब नेपालमा विदेशी लगानी भित्र्याउन भरमग्दुर प्रयास गर्ने समय आईसकेको छ । कानुनी प्रक्रियामा हुने ढिलासुस्तीले विदेशी लगानीकर्ताहरुलाई निराश बनाएको छ । त्यसैले सरकारले फास्ट ट्रयाकबाट विदेशी लगानी ल्याउन छुट्टै नीति तथा कार्यक्रम बनाउनु जरुरी छ । जसका लागि विदेशी लगानी आकर्षित र प्रबद्र्धन गर्न प्रधानमन्त्रीले सरकारी स्तरबाटै छुट्टै टास्क फोर्स अथवा विज्ञ समूह गठन गरी विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सकिन्छ ।
मुलत एक सय ४ वर्षको राणा शासन, ३० वर्षे पञ्चायती शासन र गणतन्त्र आउनुअघि पछिका वर्षहरु हेर्ने हो भने नेपालमा चाहिने जति वैदेशिक लगानी आकर्षित हुन सकेन । २०४८र०४९ सालमा सरकारले लिएको उदारीकरणको नीति र लोकतान्त्रिक गणतन्त्रपछिका दिनहरुलाई हेर्ने हो भने विदेशी लगानी भित्र्याउन धेरै प्रयासहरु भए । लगानी आकर्षित गर्न सरकारले धेरै योजनाहरु ल्यायो तर प्रभावकारी कार्यान्वयन भने भएन । यसको मुख्य कारण भने राजनीतिक अस्थिरता, लगानीको प्रतिकुल वातावरण र लगानी मैत्री हुन नसकेको ऐन कानुन नै हो ।
नेपालमा सबैभन्दा बढी लगानी केन्द्रित गर्ने देशहरुमा क्रमशः भारत, चीन, दक्षिण कोरिया, अमेरिका, बेलायत, जापान, हङकङ, जर्मनी र क्यानडा आदि छन् । यी मुलुकहरुले नेपालमा जलविद्युत, सेवा, निर्माण र उद्योग क्षेत्रमै बढी लगानी गरेको देखिन्छ । नेपालमा पछिल्लो समय भारतभन्दा पनि बढी चीनले लगानी बढाउन खोजिरहेको देखिन्छ । अहिलेको स्थितिमा करिब पचास अर्ब भन्दा माथि लगानी चिनियाँ कम्पनीहरुले गरेको देखिन्छ । सन् १९७८ बाट आर्थिक सुधारका कार्यक्रमहरु सुरु गरेको र सन् १९९० को दशकबाटै निजी क्षेत्रलाई खुला गरी उदारीकरणको माध्यमबाट अघि बढेको चीन यतिबेला विश्वमै ठूलो लगानीकर्ता मुलुक भएर चिनिएको छ ।

नेपालमा सार्वजनिक निजी साझेदारी मार्फत विदेशी लगानी र ठूला आयोजना प्रवेश गराउन लगानी बोर्ड र लगानी ऐन मार्फत प्रयास गरिएको छ तर लगानी बोर्डले यथेष्ट काम गर्न सकिरहेको छैन ।
विगत तीन वर्षयता नेपालमा आएका विदेशी लगानीकताहरुले करिब २ खर्ब रुपैंया बराबरको लगानीको प्रतिबद्धता जनाएका छन् । नेपालमा कृषि, निर्माण, उर्जा, उत्पादनमुलक उद्योग, खानी, सेवा, पर्यटन लगायतका क्षेत्रमा करिब २ खर्ब रुपैंया जतिको लगानीको प्रतिबद्धता देखिएको छ । हालसम्म ८५ देशका चार हजारभन्दा बढी लगानीकर्ताले लगानी गर्न रुचि देखाएका छन् । यसरी विदेशी लगानीकताहरुले बढी चासो नेपाललाई दिंदा समेत हाम्रा नीति निर्माण तहमा काम गर्नेहरुले गम्भीर भएर कहिल्यै लाग्न सकिरहेका छैनन् ।
नेपालमा लगानीका क्षेत्रलाई हेर्ने हो भने केही तुलनात्मक लाभका क्षेत्रमा जस्तो कि वित्तीय तथा बैंकिङ सेवा, सूचना प्रविधि एवम् पर्यटन व्यवसायमा लगानी भित्रिएका छन्, तर औद्योगिक प्रतिष्ठान, ऊर्जा र उत्पादनमुलक उद्योगमा अपेक्षा गरिए अनुसार लगानी हुन सकेको छैन । पूर्वाधार क्षेत्रमा भने अलिकति पनि लगानी आएको छैन । पर्याप्त मात्रामा वैदेशिक लगानी भित्र्याउन सरकारका तर्फबाट गरिएका प्रयासहरु धेरै उत्साहबद्र्धक हुन सकेको छैन । सरकारले जनतालाई आश्वासन दिने उद्देश्यले मात्रै लगानीका कार्यक्रमहरु मौखिक रुपमा घोषणा गरेको देखिन्छ । तर नीतिगत रुपमा सरकारले कुनै प्रगतिमुलक कामहरु गर्न सकेको छैन । अरु देशको तुलनामा नेपालमा श्रम बजार सस्तो भएकाले लगानीलाई आकर्षण गर्न सकिने सम्भावना प्रचुर छ तर औद्योगिक श्रम सम्बन्ध अर्थात् मजदूर युनियनको जबरजस्त आन्दोलनले वैदेशिक लगानीलाई धेरै हदसम्म प्रभावित पारेको छ । नेपालमा वैदेशिक लगानीका लागि अर्को महत्वपूर्ण समस्या भनेको अनावश्यक रुपमा भईरहने मजदूर आन्दोलन पनि एक प्रमुख कारक हो । यसले गर्दा औद्योगिक क्षेत्रमा श्रम सम्बन्ध राम्रो हुन सकेको छैन ।
लगानीका लागि अर्को चुनौति भनेको समय–समयमा हुने राजनैतिक नेतृत्व परिवर्तनले सुधारका कुरालाई नहेरी राजनीतिक लाभ–हानीको दृष्टिले हेरिने गरिएकाले विकासका कामहरु प्रभावित भईरहेका छन् । अर्को तर्फ प्रशासनको कर्मचारीतन्त्रीय शैलीले लगानीमैत्री वातावरण बन्न सकेको छैन । साथै नेपालमा दिनदिनै बढ्दै गएको सुरक्षा चिन्ता, बन्द, हडताल र तालाबन्दी जस्ता कार्यबाट लगानीकर्ताहरु बढी जोखिम महसुस गर्न थालेका छन् ।
हामीसँग धेरै सम्भावनाहरु छन् । हाम्रा स्रोत साधनको उचित प्रयोग गर्न सकिए हामी सबल र आत्मनिर्भर बन्न सक्छौं तर हामी अपार सम्भावना र नीतिगत घोषणाका बावजुद पनि वैदेशिक लगानी ल्याउन सकिरहेका छैनौं । यसका लागि सरकार नै बढी गैरजिम्मेवार भएको देखिन्छ । जब सरकार नै गैर जिम्मेवार हुन्छ भने कर्मचारी प्रशासनले पनि राम्रो काम गर्न सक्दैन ।
हाम्रो अर्थतन्त्र बढी व्यापारमुखी र राजस्वमुखी भएको छ । तर उत्पादनमुखी हुन सकेको छैन । यदि अर्थतन्त्र माथि उकास्ने हो भने नयाँ शिराबाट सोच्नुपर्ने हुन्छ । हामी अबको पाँच वर्षमा के कति काम सम्पन्न गर्छौं ? त्यसपछिको पाँच वर्षमा कस्तो कामको सुरुवात गर्छौं अनि त्यसका लागि वैदेशिक लगानी कति ल्याउँछौं भनि सरकार र राजनीतिक दलहरुले साझा धारणा बनाउन जरुरी छ । मुलुकलाई आर्थिक सम्पन्न बनाउन यदि साँच्चै वैदेशिक लगानी भित्र्याउने हो भने केही नीतिगत र कानुनी झमेलाहरु हटाएर सरकार अघि बढ्नुपर्छ । त्यस्तै भविष्यमा आईपर्ने मजदुरहरुको समस्यालाई पहिले नै समाधान गरेर अगाडि बढ्नुपर्छ । आयोजनामा हुने भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता र अन्य अवरोधहरु हटाउन सरकारले माथिल्लो तहबाटै विशेष टास्क फोर्स गठन गरी अनुगमन गरिरहनुपर्छ । अनि मात्रै नेपालमा वैदेशिक लगानी आकर्षण हुने देखिन्छ ।

Related posts

Leave a Comment