नेपालभित्रै भारतले खेल्नथालेपछि नेपाली जनतालाई भारतप्रति घृणा पैदा भयो

 कमल कोईराला,

नेपालीहरू नेपालको आन्तरिक राजनीतिबारे विदेशी हस्तक्षेप गर्न खोज्दा वा कुनै नेपालीले विदेशीहरूलाई त्यस विषय कुनै आश्वासन वा भनाई राखे त्यो पनि मन पराउँदैनन् । आफ्नो आन्तरिक र बाह्य स्वतन्त्रताप्रति नेपालीहरू साह्रै संवेदनशील छन् । हालै नयाँ दिल्लीमा नेपालको संसदबाट पारित हुन नसकेको संशोधनबारे फेरि शेरबहादुर देउवाले औपचारिक दिल्ली भ्रमण (२०७४ भदौ ७–१०)मा बोल्दा यो नेपालको संसदको अपमानदेखि लिएर लज्जास्पद लम्पसारवाद भनेको पत्रपत्रिकाहरूमा हालै प्रकाशित छन् ।

२००७ सालसम्म वीपी कोइराला भारत र भारतका नेताहरूको आलोचक हुनुहुन्थ्यो । तर २००८ सालदेखि नेपालका लागि भारतीय राजदूतहरूको काठमाडौंमा नेपालको आन्तरिक राजनीतिमा बढी नै खेल्न खोजिएको खेलहरू देखेर वीपी पनि भ्रम मुक्त हुँदै जानुभएको पाइन्छ । वीपीले सार्वजनिकरुपले नै पनि भारतीयहरूको त्यस्ता आन्तरिक मामिलामा हस्तक्षेपकारी कार्यहरूको आलोचना र विरोध गर्न थाल्नुभएको इतिहास साक्षी छ ।

२०६३ साल नेपालमा फेरि जनआन्दोलन पछि २०६३ बैशाख ११ मा प्रजातन्त्र बहाल भएपछि आफूलाई मधेशकेन्द्रित नेता हौं भन्नेहरू र फाटफुट कुनै पत्रकारहरूले पनि महेन्द्रीय राष्ट्रवाद भनि भन्न थाले । यी भन्नेहरू कोही नेपाली कांग्रेसबाट कोही नेकपा एमालेबाट वा कोही अन्य पुराना पार्टीबाट फुटेका वा फोरिएका नेता भनाउदा मान्छेहरू थिए । यो पनि एक एक जनाबारे नेपालका जनतालाई अवगतै छ । यस्ता मधेश केन्द्रित भन्नेहरूले राजा महेन्द्रद्वारा संसदीय लोकतन्त्रलाई समाप्त पारेर सेनाको आडमा शासन सत्ता कब्जा गरेको र राजनीतिक दलका नेताहरूलाई लामो लामो समय जेलमा हालेको कुरालाई महेन्द्रीय तानाशाही भनेको चाहिं सुनिएन । उनीहरूको तारो नै नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डताको विरोधमा देखिँदै आयो ।

२०६३÷६४ पछि नेपालको तराईमा ‘पहाडिया भगाओ’ भनि गरेका कर्तुतहरू, लाठीवादी भय–त्रास उत्पन्न गर्ने माध्यमहरू खुलेआम चलाइए । तराईमा भारतीय सीमाका बजारहरूमा आश्रय लिएका एकसयभन्दा बढी आफूलाई मधेशवादी भन्ने सशस्त्र गिरोहहरूका कर्तुतहरू हामीले देखेकै र सुनेकै हौं । ठूला राजनीतिक दलका ठूला नेताहरूले यो तथ्य बोल्न डराएपनि हालै ७ बर्ष नेपालको सर्वप्रथम राष्ट्रपति रहनुभएका रामवरण यादवले यो कुरा स्पष्टरुपले बोलेको पढें–‘पहिलो मधेश आन्दोलन हुँदा मेरो गाउँ जनकपुरतिर पहाडे भगाओ अभियान चलाइयो, रौतहटमा त्यही भयो । त्यो गलत भयो । यसप्रति पहाडी समुदायमा आजसम्म पनि कहीं न कहीं प्रतिक्रियाको भावना छ । तर, वास्तविकता के पनि हो भने नेपालीहरूको विस्थापन स्वयम् जनकपुरबाट पनि भएको छ । यस्तो विस्थापन वीरगंज, राजविराज र अन्य ठाउँहरूबाट पनि भएको छ ।

नेपालमा हत्या, हिंसा, अपहरण, फिरौती असुल गर्ने काम, नेपाली कर्मचारीहरू खटेको कार्यक्षेत्रमा उनीहरूको हत्या गर्ने कामलगायत धेरै गलत कामहरू २०६२र६३ पछिका बर्षहरूमा तराईमा गरिए । १० बर्ष पछि भारतको सरकार र विदेश मन्त्रालयका माथिल्ला, तल्ला श्रेणीका नेपाल नीति बनाउनेहरूले बल्ल बुझ्न थालेको हो कि लाग्छ, नेपालमा खेलेको उनीहरूको यस्ता गुप्त कारवाहीहरू धेरै दिन लुक्न सक्दैनन् र तिनीहरूले नेपालीहरूको मनमा शंका मात्र होइन रोष र घृणा समेत जगाउँछन् । यिनीहरूले नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताप्रति नेपाली जनताको प्रबल भावनाको विरोध गर्न नसकेर २०६३ पछि एउटा नयाँ शब्द चालू गर्न खोजे–‘महेन्द्रीय राष्ट्रवाद’ ।

राजेन्द्र महतोलाई सीमानामा थपना गरी भारत सरकारले नेपाली जनतामाथि लादेको अघोषित नाकाबन्दीले तथाकथित मधेशकेन्द्रित नेताहरूप्रति मात्रै होइन पर्दा पछाडि रहेको भारत सरकारप्रति नै नेपाल जनतामा रोष उत्पन्न गर्यो । विराटनगरमा पनि फासिस्ट आतंक फैलाउने प्रयास गरियो तर विराटनगर निवासीहरूले त्यो उठ्न दिएनन् र मुकाबला गरे । कोशी पूर्वका शहर बजारहरूमा यस्ता दंगा फसाद, अपहरण, फिरौती असुल्नेजस्ता आतंकलाई जनताले सुरुमै टाउको उठाउन दिएनन् ।

आज विराटनगरमा पहाडे, आफूलाई मधेशी भन्नेहरू, थारुहरू, मारवाडीहरू, मुसलमानहरू सबै एक अर्काको असल छिमेकी भएर बसेका छन् र विस्थापित भएका छैनन् । जसरी त्यो विगतका १०र११ बर्षमा तराईका कयौं ठाउँहरूबाट विस्थापित भए । महेन्द्रको शासनकालमा औंलो उन्मूलन, पूर्व–पश्चिम राजमार्गको निर्माण, भूमिसुधार र हदबन्दी लागू भएपछि पहाडबाट झरेका व्यक्तिहरू पनि स्थापित भए । महेन्द्रको आन्तरिक शासन नीति वा गृह नीति तानाशाही भएपनि नेपालको भौतिक, भौगोलिक र मानसिक एकीकरणका लागि विदेश नीति र आर्थिक विकास नीति परिचालित भएको देखिन्छ । महाराज महेन्द्रले ११ बर्ष पञ्चायती तानाशाही शासन गरे । तर, नेपालको असंलग्न परराष्ट्र नीतिलाई नयाँ र नेपालको हितमा मोड दिन सफल भएको देखिन्छ ।

चीनसँग कूटनीतिक सम्बन्ध महाराजा महेन्द्रको पालामा स्थापित भयो भने वीपी कोइरालाको संसदीय सरकारको पालामा चीनसँ“ग शान्ति र मैत्री सन्धि सम्पन्न भयो । राजा महेन्द्रको शासनकालमा भारतीय मिलिटरी मिसन, नेपालको उत्तरी सीमानाबाट चेकपोष्ट हटाउने काम, काठमाडौं कोदारी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, रुस, जापान, पाकिस्तानलगायत धेरै देशहरूसँग कूटनीतिक सम्बन्ध विकसित भएको देखिन्छ । साथै महेन्द्रले असलंग्न आन्दोलनका शीर्ष सम्मेलनहरू र अन्य अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा पनि नेपालको व्यापक अन्तर्रा्ष्ट्रियकरण गरेको र नेपाललाई सन्तुलित पर्राष्ट्रनीतिमा रुपान्तर गर्न सफल भएको इतिहास साक्षी छ ।

नेपालमा २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पनि प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईले भारतका गुप्त प्रस्तावहरू अस्वीकार गरेको पाइन्छ । तर, हालका दिनहरूमा सत्तास्वार्थका कारण प्रचण्ड र शेरबहादुरहरूले लिएका विदेश नीतिहरूबारे पत्रकारहरूले लम्पसारवादको संज्ञा दिनु कुनै अस्वभाविक कुरा देखिंदैन ।

WeeklyNepal

Related posts

Leave a Comment