यसरी हुन्छ विमानस्थलमा लुटको धन्दा

airport

टिभी अन्नपूर्ण
काठमाडौं, २८ पुस । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यति कमजोर र अव्यवस्थित छ जहाँबाट तस्करी र सामान चोरीका घटनाहरु बारम्बार आईरन्छन् । केही दिनअघि मात्र ३३ किलो सुन तस्करी भईरहेको थियो । जुन समातियो । करिब दुई महिनाअघि मात्रै विदेशबाट घर फर्किका नेपालीहरुको सामान साउदी अरबियाबाट आउँदै गर्दा विमानस्थलमा हरायो ।
दुई महिनाअघि नै दुबईबाट चार जना नेपालीहरु घर फर्किंदै गर्दा उनीहरुको पनि सामान विमानस्थलमै हरायो । आखिर विदेशबाट आएको सामान कसले, कहाँ लैजान्छ त ? यो विषय एकदम गम्भीर छ । कतिपय अवस्थामा भन्सार कार्यालयमै ठगिने गरेको गुनासोहरु आउने गरेको छ । ठगी पनि कुनै अपरिचित व्यक्तिबाट होइन सरकारी कर्मचारीहरूबाट नै ठगिने गरेको गुनासो बढ्दै छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा रहेको भन्सार कार्यालयले हरेक नेपालीहरूलाई विभिन्न बहानामा दुख दिने गरेको घटना बाहिर आउन थालेको छ । यदि कसैले विदेशबाट घरायसी प्रयोजनका लागि ल्याएको सामान पनि तिनै कर्मचारीहरूबाट नै खोसिने गरेको छ । कतिपय सामान त हराउने नै गरेका छन् । गत पुस ११ गते सोमबार विदेशबाट फर्किदा आफूले ल्याएको सामानमा अनेक अत्तो थापेर भन्सार कर्मचारीले दुख दिएपछि हिमालयन एयरलाइन्सका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले विमानस्थलमा नै छोडेर आए । मध्यराति कर्मचारीसँग विवाद गर्नु सट्टा भोलि पल्ट सामान लिउँला भनेर उनले सामान त्यहीँ छाडिदिए ।
भोलिपल्ट आफ्नो सामान लिनका लागि कम्पनीको वकिल सहित उनले एयर कार्गो भवन सिनामंगल पठाए । त्यहाँ उनले ल्याएका सामानहरू हराएको भेटियो । कर्मचारीहरूसँग उनका वकिलले विवाद गर्न चाहेनन् । बरु केही प्रति सामान हराएको जानकारी गराउंदै वकिलले भएका सामान भन्सार शुल्क तिरेर लिएर जाने तयारी गरे । तर, आफ्नो सामान पनि किन सजिलै पाउंथे र । यो वा त्यो बहानामा रकम असुल्ने क्रम जारी रह्यो । एयरपोर्टबाट कार्गो भवनसम्म सामान ल्याएको पाँच सय रुपैयाँ, बोकेको अर्को पाँच सय रुपैयाँ, सामान थोरै सारिदिएको दुई सय रुपैयाँ । भन्सार कर्मचारीले मागेजति रकम नदिए आफ्नो सामान नपाउने कार्गो कार्यालयभित्रको रमिते पीडामा नेपाली मात्र होइन विदेशी पर्यटकहरू पनि प्रशस्तै छन् ।
कार्गो भवनमा रहेका सरकारी कर्मचारीको मिलेमतोमा रहेका दलालहरूले विदेशी पर्यटकलाई पनि अत्यन्तै हैरान पारिरहेको दृश्य एयरपोर्टको आगमन कक्षदेखि कार्गो भवनसम्म देख्न सकिन्छ । विदेशी पर्यटकहरूले नेपाल भ्रमणमा आउँदा ल्याएका व्यक्तिगत सामानहरूलाई भन्सार शुल्क लिने त छँदैछ, भन्सार शुल्क लिईसकेपछि तत्काल सामान नदिई भोलिपल्टको चिट हात थमाएर बसाउने परिपाटीले नेपाल घुम्न आउने पर्यटकहरू समेत हैरान भएर मन दुखाउने गरेको गुनासो सुनिन्छ ।
भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटा भन्छन् ‘मैले आफ्नो तहबाट कसैलाई पनि विनाकारण दुख नदिन निर्देशन दिईसकेको छु । तर, पनि समस्या समाधान भएको छैन ।’ निरीहता प्रकट गर्दै उनी भन्छन् ‘कर्मचारीको नियमित बैठकमा कुरा उठायो सबै जना हस् भन्छन् तर फेरि उजुरीका चाङ्ग लाग्ने गर्दछन् ।’ केही कर्मचारीहरूले व्यक्तिगत स्वार्थका कारण झण्झट दिने गरेको उजुरी आफूलाई हरेक दिन आउने गरेको उनले बताए ।
हुन त एयरपोर्ट भन्सार लुट मच्चाउने कार्यालयको रुपमा देखिंदै आएको छ । अनावश्यक झण्झटमा पार्ने र अनेकौं बहानामा पैसा असुल्ने काम हुँदै आएको उजुरी पर्दै आईरहेको छ । तर यस विषयमा कुनै सुनुवाई अहिलेसम्म हुने गरेको छैन । विदेशबाट सामान लिएर आउने नेपालीहरु बेला बेला ठगिने र लुटिने गरेको गुनासो आउने गरिरहेको छ । त्रिभुवन विमानस्थलमा हरेक दिन यस्तै हैरानी स्वदेशीले मात्र होइन विदेशीले समेत व्यहोर्नु परेको गुनासो ब्यापक छ ।

Related posts

Leave a Comment