अक्षर काकाको ‘देउती’माथि चर्चा

काठमाडौँ ।

सिन्धु इन्द्रावती परिवेशमा लेखिएको उपन्यास ‘देउती’माथि विमर्श गरिएको छ ।

बडादसैँको अवसर पारेर मेलम्ची नगरपालिका–४ पिप्लेमा आज गरिएको विमर्शमा समीक्षकहरूले कृतिका औपन्यासिक चरित्र केलाएका हुन् ।

साहित्यकार रामेश्वर राउत मातृदासले सिन्धु–इन्द्रावती परिवेश र त्यहाँको जीवनशैली प्रतिविम्बित हुने उपन्यास निस्कनु खुशीको कुरा भएको बताउँदै कृतिले नेपाली भाषा साहित्यमा महत्त्वपूर्ण टेवा पु-याउने उल्लेख गर्नुभयो ।

उपन्यासको अन्तरवस्तुमाथि प्रकाश पार्दै साहित्यकार प्रेम भण्डारीले रुद्रराज पाण्डेकृत ‘रूपमती’देखि उपन्यास लेखनको आधुनिक काल सुरू भएको र देउती त्यसैको प्रतिछाया भएको बताउनुभयो ।

कृतिका सर्जक अक्षर काका (रामनाथ खनाल)लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । उहाँलाई साहित्यकारद्वय राउत र भण्डारीले दोसल्ला ओढाउनुभएको थियो ।

सम्मानित व्यक्तित्व खनालले मुलुकमा ठूल्ठूला परिवर्तन भए पनि त्यसको असर समाजमा पुग्न नसेकेको र सिमान्तकृत तथा किनाराकृत समुदायको अवस्था ज्युँकात्युँ रहेकाले देउती लेख्नुपरेको उहाँको भनाइ थियो ।

कूल २४३ पृष्ठमा समेटिएको देउती सांग्रिला बुक्सले प्रकाशन गरेको हो । गत वैशाखमा विमोचित यो कृतिको दोस्रो संस्करण केही दिनअघि बजारमा आइसकेको छ ।

Related posts

Leave a Comment