ढुँगामाथि देवता टुसाउने अलौकिक तीर्थस्थल

गलेश्वरधाम | ʿढुँगा टुसाउँदैन, उन्यू फुल्दैनʾ भन्ने प्राचीन नेपाली उखान जनजिब्रोमा प्रचलित भए पनि म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम ढुँगामाथि देवता टुसाउने अलौकिक तीर्थस्थल हो ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशीलामाथि स्वयम्भू ज्योर्तिलिङ्ग, शालिग्राम जलबराह कुण्डसहित देवदेवीको एक साथ दर्शन र अवलोकन गर्न पाइने यो तीर्थस्थल धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्दै गएको छ ।

स्वयम्भू ज्यार्तिलिङ्गसहित वरपर पानीको स्रोत नभएर पनि जस्तै खडेरीमा पनि पानी नसुक्ने यहाँको जलबराह कुण्ड र शीलामाथि विभिन्न समयमा टुसाएर उत्पत्ति भएका देवदेवीका आकृतिको दर्शनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ अधिकारीले जानकारी दिनुभयो ।

गलेश्वरका अलौकिक धार्मिक सम्पदा, महिमा र यहाँ वरपरको प्राकृतिक सौन्दर्यले देश विदेशका तीर्थयात्री, भक्तजन एवम् पर्यटकलाई लोभ्याउन सफल भएको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा विकास हुँदै गएका पूर्वाधार, व्यवस्थापन, प्रचारप्रसार र सडक सुविधाका कारण गलेश्वरमा भक्तजन एवं पर्यटकको आगमन बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी बताउनुहुन्छ ।

“भक्तजनको आगमनसँगै संकलन हुने भेटी वर्षेनी वद्धि हुँदै गएको छ, आर्थिक वर्ष २०७३७४ मा ३७ लाख तीन हजार रुपैयाँ भेटी संकलन भएको छ,” उहाँले भन्नुभयो, “यस अवधिमा मन्दिरमा करिब एक लाख ७० हजारजना भक्तजनको आगमन भएको हामीले अनुमान गरेका छौं ।”
कोषको सचिवालयका अनुसार आर्थिक वर्ष २०७२७३ मा २८ लाख २७ हजार ९७९ रुपैयाँ भेटी संकलन भएको थियो ।

“बेनी–जोमसोम सडक सञ्चालन, गलेश्वरको धार्मिक र ऐतिहासिक महत्वको प्रचारप्रसारका साथै आम्दानीलाई पारदर्शी र पूर्वाधारलाई व्यवस्थित गरिएसँगै भक्तजनको आगमन उल्लेख्य रुपमा बढेको छ” – अध्यक्ष केसीले भन्नुभयो ।

गलेश्वरमा सतीदेवीको गला पतन भई ज्योर्तिलिङ्ग प्रकट भएको हिन्दु धार्मिक ग्रन्थ स्कन्ध पुराणमा उल्लेख भएको बताउने कोषका उपाध्यक्ष पं पराजुलीका अनुसार ऋषभदेवका जेष्ठ पुत्र राजा भरतले गलेश्वरमा तपस्या गरी मोक्ष प्राप्ति गर्नुभएको थियो ।

उहाँका अनुसार पुलस्त्य पुलह, वशिष्ठ, गालवऋषि, राजार्षिरहुगण, कपिलमुनि, गलेश्वर बाबा, जडभरत जस्ता ऋषिले तपस्या गरेको यस स्थानको दर्शन गरेमा पुण्य प्राप्ति र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

शालिग्राम गर्भमा लिएर बग्ने कालीगण्डकी नदीको किनारमा अवस्थित गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

गलेश्वर दर्शनका लागि पाल्पाबाट आएका प्रदीप बस्यालले धामिक महिमा, मन्दिरको व्यवस्थापन, पूर्वाधार र अनौठा दृश्यबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।

एउटै चक्रशिलामाथि अवस्थित गलेश्वरको दर्शन र कालीगण्डकीको स्नान गर्न पाएकामा काठमाडौँबाट आएकी ६० वर्षीया पुष्पकला पराजुलीले प्रशन्नता व्यक्त गर्नुभयो ।

“छिमेकीबाट गलेश्वरको महत्वका बारेमा जानकारी पाएका कारण दर्शनका लागि आएकी हुँ,” पराजुलीले भन्नुभयो – “गलेश्वर जस्तो अलौकिक ठाउँमा अहिलेसम्म पुगेकी थिइनँ ।”

एकै ठाउँमा रहेका शिवालय, जलबराह कुण्ड, १०८ शिवलिङ्ग, गणेश मन्दिर, शालिग्राम, ज्योतिर्लिङ्ग र लक्ष्मीनारायण मन्दिरको मनमोहक र रमणीय दृश्य एकसाथ अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता हो ।

“चक्रशिलाको सबैभन्दा उच्च स्थानमा रहेको जलबराह कुण्ड र ढुँगामै स्वयं प्रकट भएका शालिग्राम गलेश्वरलाई अलौकिक स्थलको रुपमा चिनाउने आधार हो,” अध्यक्ष केसीले भन्नुभयो – “ढुँगामाथि रहेको जलबराह कुण्ड पानीको स्रोत नभए पनि जस्तोसुकै खडेरीमा पनि कहिल्यै नसुक्नुलाई दैवी चमत्कारकै रुपमा लिने गरेका छौं ।”

विष्णु भगवानले बराह अवतार लिई पृथ्वीलाई उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डको जल अभिषेक गर्दै दर्शन पूजन गर्नाले पाप नाश भै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ ।

बराहको मध्य भागमा शेषनाथको मूर्ति छ । मन्दिर अवस्थित चक्रशिलाको विभिन्न ठाउँमा विश्वमै दुर्लभ शालिग्राम शिला रहेका छन् । धार्मिक व्यक्तित्वहरू यहाँ भगवान् विष्णु शालिग्रामको रुपमा स्वयं प्रकट भएको र ढुँगो टुसाएको दावी गर्छन् ।

यसका अतिरिक्त १०८ शिवलिङ्ग र जडभरतले तपस्या गरेको गुफा पनि गलेश्वरको अर्को आकर्षण हो । साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रीका दिन विशेष पूजाआजा हुने गलेश्वर एक दशक अघिसम्म सुनसान हुने गरेकामा पछिल्ला वर्ष प्रायःजसो सबै दिन भक्तजन आउने गरेका छन् ।
मासिक र साप्ताहिक रुपमा मन्दिरमा संकलन हुने भेटी सार्वजनिक गर्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले भेटी र चन्दा पूर्वाधार निर्माणमा उपयोग गर्दै आएको छ ।

भेटीबाटै कार्यालय र संस्कृत पाठशाला सञ्चालन भएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार भेटी र चन्दाबाट सत्संग भवन, पुजारी आश्रम, प्रवेशद्वारदेखि मन्दिर र कालीगण्डकी नदीसम्म पक्की पदमार्ग, प्रवेशद्वार र शिवलिङ्ग निर्माण गरिएका छन् ।
यस्तै, भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा सिसीटिभि क्यामेरा जडान गरेर निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

कोषको पहलमा मन्दिर नजिकै कालीगण्डकी नदी किनारमा रहेको खाली जग्गामा पर्यटन कार्यालय पोखराको सहयोगमा क्याम्पिङ साइट, उद्यान, सार्वजनिक शौचालय र खेलमैदान निर्माण भएका छन् । गलेश्वरदेखि पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माणको काम शुरु गरिएको छ । बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी–जोमसोम सडकको छेउमा पर्ने गलेश्वरमा हालै बसपार्क समेत निर्माण भएको छ ।

गलेश्वरमा तीर्थयात्री निवास र उनीहरूलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ । अन्नक्षेत्र आश्रम व्यवस्थापन समितिले मुठ्ठीदान संकलन गरेर गलेश्वर वृद्धाश्रममा आश्रित जेष्ठ नागरिक र मुक्तिनाथ आवतजावत गर्ने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको उपाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

विद्युतीय उपकरणको सहायताले कालीगण्डकी नदीबाट पानी तानेर मन्दिर परिसरको १०८ धारामा स्नान गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयसँग समन्वय गरेर १०८ धारा निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

Related posts

Leave a Comment