सोचेजस्तो छैन बिदेश-आउछ् हरेक महिना सयको लाश

baidesik-rojgar

टिभी अन्नपूर्ण

२३ पुस,काठमाडौं।

नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । रेमिट्यान्सका कारण टिकेको अर्थ व्यबस्थाका कारण सरकार नेपालमै रोजगारी सिर्जना गर्नेतर्फभन्दा पनि वैदेशिक रोजगारीमा जाने युवाको टाउको गनेर अर्थ व्यवस्थाको आँकलन गर्ने काम गरिहेको हुन्छ । तर रेमिट्यान्सले अर्थतन्त्र धानिरहेका युवाहरु मध्ये हरेक वर्ष १ हजार बढीको मृत्यु हुने गरेको तथ्य भन्ने अहिलेसम्म छाँयामै छ । खासगरी खाडी मुलुकहरुमा नेपाली कामदारको संख्या बढ्दो छ । यहि कारण देशमा भएका रोजगारीमा समेत युवाहरुको आर्कषण छैन ।

केही पढे लेखेकाहरु र ठूलो लगानी गर्न सक्नेहरु जुँगाको रेखी बसेदेखि पिठ्युँको हाड दोब्रिञ्जेल युरोप, अमेरिका र अष्ट्रेलियाको बजारमा पसिना बेच्न बाध्य छन । उता कम पढेका र ठूलो लगानीको जोखिम उठाउन नसक्नेहरु खाडी मुलुकको ५५ डिग्रीको तापमा आफुलाई सेकाएर देशको अर्थतन्त्र धानिदिने ठेक्का लिएका छन् । यिनै नेपाली कामदारहरुले पठाएको पैसाले देश चल्छ अनि बेला बेला सुरक्षित वैदेशिक रोजगारको बारे तारे होटलहरुमा बहस गरिन्छ । तर हरेक महिना १ सयको हाराहारीमा राता बाकसमा भित्रिने युवाहरुको लाशबारे भने खासै बहस भएको सुनिंदैन । त्रिभुवन विमानस्थल र वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औसतमा दैनिक तीनवटा राता बाकसहरु आईपुग्ने गरेका छन् ।

देशमा रोजगारीको अवसर नहुनु, बैदेशिक रोजगारमा जाने युवाहरुका लागि आवश्यक तालिम, सीप र सुरक्षाको चेतना नहुनुका कारण वैदेशिक रोजगारीकै क्रममा धेरै ज्यान गुमाउन बाध्य छन् । सरकारले सम्बन्धित देशमा सुरक्षाको ग्यारेण्टी हुने गरी समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नु र अप्रिय घटना घटेका अवस्थामा आवश्यक क्षतिपूर्ति दिलाउने तर्फ सरकार उदासिन बन्नुले विदेशमा ज्यान गुमाउन बाध्य नेपालीको सङ्ख्या बढ्दै गएको जानकारहरुको बुझाई छ । वैदेशिक रोजगार प्रर्बद्धन बोर्डमा उपलब्ध तथ्याङकअनुसार सन् २०१६ मा मात्रै १ हजार ३ सयभन्दा बढी नेपालीको विदेशमै मृत्यु भएको उल्लेख छ ।

विदेशमा मृत्यु भएका नेपालीका परिवारले बोर्डमा दर्ता गरेको क्षतिपूर्तिको विवरण अनुसार २०१६ को जनवरी देखि डिसेम्बर सम्म १२ सय ७३ जना पुरुष र २७ जना महिला कामदारको मृत्यु भएको भन्दै क्षतिपूर्तिका लागि बोर्डमा उजुरी परेको छ । विदेशमा मृत्यु हुने विभिन्न कारणहरु मध्ये धेरै नेपाली कार्यस्थलमा हुने दुर्घटनाका कारण अकालमै ज्यान गुमाउन बाध्य छन् । यसबाहेक सडक दुर्घटना, कामको चापका कारण सुतेकै स्थानमा हृदयघात हुने जस्ता घटना, हत्या र आत्महत्याका घटना पनि धेरथोर बढेको तथ्याङ्कमा उल्लेख छ । अत्यन्तै न्युन सङ्ख्यामा कालगतिले मृत्यु हुनेहरु पनि भेटिएका छन । हुन त अमेरिका, अष्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकहरुमा समेत नेपालीले अकालमा ज्यान गुमाईरहेका छन् । तर खाडी मुलुकहरुमा यो दर निकै बढि छ । उता मलेसियामा तुलनात्मक रुपमा बढी नेपालीले ज्यान गुमाउन बाध्य छन् ।

कामको चाप, सामाजिक असुरक्षा र सडक चेतनाको कमीका कारण यी देशहरु अन्य देशको तुलनामा बढी असुरक्षित मुलुकका रुपमा चिनिएका हुन् । वैदेशिक रोजगार प्रर्बद्धन बोर्डका अनुसार पछिल्लो एक बर्षको अवधिमा मलेशियामा ४८३, साउदी अरेबियामा २९३ जना नेपालीको मृत्यु भएको छ । यसबाहेक कतार, बहराईन, कुवेत, दक्षिण कोरिया, जापान, युरोपका केही देश, र अष्ट्रेलियामा समेत नेपालीले ज्यान गुमाएको देखिन्छ । जसमध्ये मलेशियामा हत्या, सडक दुर्घटना, हृदयघातका कारण मृत्यु भएको देखिएको छ भने साउदी अरेबियामा सडक दुर्घटनाका कारण धेरै नेपालीले ज्यान गुमाएका छन् । यसबाहेक कतार नेपाली कामदारका लागि अर्को असुरक्षित मुलुकमा देखिएको छ । गएको एकबर्षको अवधिमा मात्रै कतारमा ६३ जना नेपाली कामदारले मृत्युवरण गरेका थिए ।

कतारकै हाराहारीमा यूएईमा नेपालीहरुको ज्यान गएको देखिएको छ । उता दक्षिण कोरियामा पछिल्लो बर्ष ज्यान गुमाउने नेपाली कामदारको सङख्या पनि २ दर्जन पुगिसकेको छ । कुवेत, बहराईनमा पनि नेपालीहरुको मृत्यु भएको खबर आईरहेको हुन्छ । गएको वर्षको तथ्याङ्कलाई मात्रै हेर्दा ओमन अन्य मुलुकको तुलनामा केही सुरक्षित देखिएको छ । यद्यपी गएको बर्ष मात्रै ओमनमा पनि ९ जना नेपालीले ज्यान गुमाएका थिए ।

वैदेशिक रोजगारीमा जाने जिल्ला तथा क्षेत्रहरुको फरक तथ्यांक भएजस्तै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने जिल्लागत तथ्यांक पनि फरक फरक छ । सन् २०१६ मा जिल्लागत तथ्यांकलाई हेर्दा विदेशमा मृत्यु हुनेहरु मध्ये सबैभन्दा बढी मोरङ जिल्लाका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेहरुको जिल्लागत तथ्यांक केलाउँदा सन् २०१५ मा मोरङ जिल्लाबासीको धेरै मृत्यु भएको थियो । एक वर्षको अवधिमा मोरङका ४५ जनाले विदेशी भूमिमा ज्यान गुमाएका थिए । त्यसपछि झापा, धनुषा, बाग्लुङ, सलाही र तनहुँ जिल्लाका बढी छन् ।

यसबाहेक विदेशमा ज्यान गुमाउनेहरुमा सिराहा, रुपन्देही, रोल्पा, रौतहट, पाँचथर, नवलपरासी, महोत्तरी र खोटाङका नेपाली युवाहरु रहेका छन् । त्यस्तै दाङ, सुनसरी, ताप्लेजुङ, सुर्खेत, सिन्धुपाल्चोक र सिन्धुलीका नेपाली युवाहरुले पनि विदेशमा अनाहकमै ज्यान गुमाउनु परेको छ । निम्न आर्थिक हैसियतका कारण आफ्नो गर्जो टार्ने र दुई पैसो जोहो गरेर भविष्य चलाउने अभिलाषा बोकेर विदेश पसेका नेपाली युवामध्ये हरेक वर्ष १ हजारभन्दा बढी बाकसमा लास बनेर फर्कन्छन् ।

त्यसबाहेक अझ धेरैको विवरण त बोर्डमा पनि आईपुग्दैन । अवैधानिक रुपमा विदेश जाने र भिषा सकिएपछि पनि अवैधानिक भएकाहरुको विवरण बोर्डसम्म आई नपुगेको हो । केहीले क्षतिपूर्र्तिका लागि बोर्डमा उजुरी नगरेका कारण पनि यो तथ्याङ्क अझै बढ्ने सम्भावना छ । यसरी यो तथ्यांकले रेमिट्यान्सले धानेको नेपालको वैदेशिक रोजगारी कति सुरक्षित छ भन्ने स्पष्ट पार्दछ । यो भयावह तथ्यबारे नेपाल सरकार, वैदेशिक रोजगार सम्बन्धी सरोकारवाला निकाय र वैदेशिक रोजगारीमा जाने आम नेपाली युवा समेत गम्भीर बन्नु जरुरी छ ।

Related posts

Leave a Comment