तपाई घरजग्गा किन्दै भए यि १० स्थानमा किन्नुस बन्दैछन नयाँ शहर

काठमाडौँ ।

संघियतामा गएपछि सरकारले देशका केही महत्वपुर्ण स्थानमा नयाँ शहर विकास गर्ने लक्ष्य लिएको छ । जसअनुसार तराई–मधेशमा थप पाँच नयाँ शहर निर्माणका लागि स्वीकृति दिइसकेको छ । तराई–मधेशको सामाजिक तथा आर्थिक विकासमा टेवा पु-याउने थप नयाँ शहरको परियोजना अघि सारेको हो । हुलाकी राजमार्गलाई छोएका १० ओटा स्थानमा यसअघि नै शहरी विकास मन्त्रालयले शहर विकास गर्ने घोषणा गरिसकेको थियो । पछिल्लो चरणमा हुलाकी राजमार्गले नछोएका २ नगरपालिका र ३ गाउँपालिका गरी ५ ओटालाई नयाँ शहरका रूपमा विकास गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । विकास गरिने नयाँ शहरहरूमा सप्तरीको शम्भुनाथ र सर्लाहीको ईश्वरपुर नगरपालिका तथा महोत्तरीको बलवा, रौटहटको कटहरिया र दाङको गढवा गाउँपालिका रहेका छन् ।

यसअघि मोरङको रङ्गेली, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट र कञ्चनपुरको बेलौरी नगरपालिका तथा झापाको गौरीगञ्ज, महोत्तरीको मनरा, सर्लाहीको ब्रह्मपुरी, रौतहटको मौलापुर, बर्दियाको राजापुर र कैलालीको भजनीलाई नयाँ शहरका रूपमा विकास गर्ने घोषणा सरकारले गरिसकेको छ । गत आर्थिक वर्ष २०७३र७४ को बजेट भाषणमा हुलाकी राजमार्गमा नयाँ शहर विकास गर्ने घोषणा गरिएको थियो । मन्त्रिपरिषद्को असार १६ गते बसेको बैठकले यी शहरहरू विकास गर्ने भनी स्वीकृति दिएको हो । निर्णयअनुसार महोत्तरी (मनरा र बलवा), सर्लाही (ब्रह्मपुरी र ईश्वरपुर) र रौटहट (कटहरिया र मौलापुर)मा दुई–दुईओटा शहर विकास गरिनेछन् ।

नयाँ शहर आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख पराग कायस्थले हुलाकी राजमार्गअन्तर्गत नयाँ शहर विकास गर्न १० स्थान छानिएकोमा पछि हुलाकी राजमार्गले छोएका जिल्ला तर नगरपालिका र गाउँपालिकाले नछोएका बस्तीलाई पनि सोही योजनामा समावेश गरिएको बताए । कायस्थका अनुसार पछिल्लो चरणमा दाङ जिल्ला थप गरिएको र अन्य तीन जिल्लामा दुईओटा शहर विकास गर्नेगरी स्वीकृति भएको छ । उनले भने, ‘बस्ती अध्ययन गर्दा शहरी विकासका लागि उपयुक्त देखिएकाले स्वीकृत भएको हो ।’

सरकारले कार्यान्वयनमा ल्याएको मध्यपहाडी लोकमार्गका नयाँ शहर निर्माणकै ढाँचामा हुलाकी राजमार्गमा पूर्व–पश्चिम लोकमार्गको समानान्तर करीब २० देखि ३० किलोमिटर दक्षिणतर्फ फैलिएका तराई–मधेशका जिल्लामा नयाँ शहर विकास गर्न तयारी गरिएको हो । उक्त राजमार्ग पूर्वमा झापाको सदरमुकाम भद्रपुरबाट शुरू भई पश्चिम कञ्चनपुरको भारतीय सीमामा पुगी टुङ्गिनेछ । यो राजमार्गले तराईका २० जिल्लालाई जोड्नेछ । जमीनको उपलब्धता, जनसङ्ख्या, जनघनत्व, नोडल जक्शन, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्न जनसङ्ख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँच गरी ११ ओटा सूचकका आधारमा ती क्षेत्र छनोट गरिएको हो । हुलाकी राजमार्ग कोरिडोरमा अवस्थित विकासको गतिमा अगाडि बढेका र भविष्यमा विकासले गति लिने सम्भावना रहेका नयाँ बस्ती छनोट गरिएको हो ।

Related posts

Leave a Comment