ज्यामी काम गरेर जीविकोपार्जन गर्दै भूकम्पपीडित

मनाङ । भूकम्पले घरबारविहीन भएका गोर्खा केरौँजाका भूकम्पपीडित मनाङमा ज्यामी काम गरेर गुजारा चलाउँदै आएका छन्

भूकम्पले घरबार र आफन्त गुमाएपछि कुम्लो काम्लो बोकेर मनाङ पसेका गोर्खाली दिनको रु ६०० देखि ७०० पारिश्रमिकमा ज्यामी काम गर्ने गरेका छन् । उनीहरु मनाङको भ्रका, पिसाङ, ङावोल, घ्यरु खंसार र माथिल्लो मनाङमा अस्थायी बसोबास गरी ज्यामी काम गर्दै आएका छन् ।

दिनभर काम गर्यो, बिहान बेलुका खानमै ठिक्क हुने र बालबच्चा पढाउनु पर्ने खर्च जोहो गर्न ज्यामी काम गरेको उनीहरु बताउँछन् । भूकम्पले घर भत्काएपनि अहिलेसम्म कुनै पनि राहत नपाएको बताउँछन् गोर्खा केराँैजाकी पीडित महिला, माया गुरुङ ।

उनले भूकम्पले सासू–ससुरा बितेपछि घरमा कोही पनि नभएपछि आफूहरु मनाङ पसेको बताइन् ।

यस्तै कथा बोकेका रसुवाका जगदीश पाख्रिन विदेशमा काम गरेर घर फर्किएका र घर सबै भूकम्पले लगेपछि मनाङ आएको बताउँछन् । विदेशी भूमिमा दुःखले गरेको कमाइले साहुको ऋण तिर्न नपुगेको भन्दै आफ्नो गुनासो सुनाउँछन् ।

यसरी आफ्ना बालबच्चा बोकेर मनाङ पसेका पीडितहरु कहिले ज्यामी काम गर्छन् त कहिले मनाङ्गेहरुको खेतबारी, गोठ र घरमा काम गरेर जीवन धानिरहेका छन् ।

यस्तै, रसुवा, मनाङमा ठेक्कपट्टा गर्दै आएका ठेकेदार अर्जुन पाख्रीनको पनि पीडा उस्तै छ । भूकम्पले घरवारविहीन बनायो, आजसम्म सरकारले राहत दिएको छैन, जीवन धान्नै प¥यो, बालबच्चा पढाउनलाई पनि मजदुरी गरेको उनी बताउँछन् ।

अझै पनि भूकम्पपीडितहरु पीडामा छटपटाइरहेका छन् । सरकार मौन छ । पीडितले कहिलेसम्म राहत पाउँछन् ? किन देख्दैन सरकारले जनताको पीडा ? उनीहरुको प्रश्न छ ।

Related posts

Leave a Comment