घर भत्काएर अर्कोमा सार्न मिल्ने ढलान, विदेशमा चल्ने प्रिकाष्ट स्ल्याब अब नेपालमा

काठमाडौँ  ।

घर मानिसले जिवनमा एकपटक बनाउछ भन्ने मान्यता अहिलेपनि समाजमा बिद्यमान छ । धेरै खर्च, र बनाउन समय लाग्ने भएकाले नै यस्तो मान्यता प्रचलनमा आएको हुनुपर्छ । तर पछिल्लो समयमा मानिसको आम्दानीको स्रोतमा बृद्धि, र नयाँ प्रविधीका कारण यस्तो मान्यता गलत जस्तै बन्न थालिसकेको छ ।

केही बर्ष अघिसम्म घर बनाउदाँ रोडा, बालुवा सिमेन्ट मिस्ने काम श्रमिकले सावेलको साहाराले चलाएर गर्ने चलन थियो । यसका साथै तयारी भएको रोडामिश्रणलाई समेत लाम लगाएर श्रमिकले ढलान गर्ने स्थानसम्म पु-याउनुपर्ने अवस्था थियो । जसका कारण एउटा सामान्य छत ढलानका लागीसमेत लामो समय लाग्ने गरेको थियो । अहिले समय फेरिएको छ ।

अत्याधुनिक मिक्सरहरु प्रयोगमा आएका छन । भने लिफ्टिङको सहयोगले चाहेजति सामाग्री धेरै अग्ला भवनमा समेत पु-याउने निक्कै कम समयमा सम्भव छ । अझै यो युगलाई पनि चुनौति दिदै निमार्ण क्षेत्रमा अब घर ढलानका नयाँ प्रविधी भित्रिएको छ । यो प्रविधीले घर बनाउँदा स्ल्याब ढलान गर्नैपर्ने बाध्यता समेत हटेको छ । जग हालेर पिलर र बिम ढलान गरिसकेपछि स्ल्याब ढलानको सट्टा प्रिकाष्ट स्ल्याब (कारखानामा पहिले नै तयार पारिएको स्ल्याब) राख्न सकिने नयाँ प्रविधीसँगै अब ढलानको बाध्यता हटेको हो । यो प्रविधीबाट निमार्ण गर्दा पिलर, बिम बनाएपछि छतको ढलानको सट्टा प्रिकाष्ट स्ल्याब राख्दा निर्माण छिटो हुने इञ्जिनीयरहरूको भनाइ छ ।

स्ट्रक्चरल इञ्जिनीयरहरुका अनुसार यसको प्रयोग आवासीय घर, कार्यक्रम हल, फ्याक्ट्री, इँटा भट्टालगायत संरचनामा उपयुक्त हुनेछ । प्रचलित प्रविधी अनुसार घर भत्काउने समयमा ढलानलाई चट्टानको धुलो बनाई फाल्नुपर्ने भएपनि नयाँ स्ल्याब राख्ने प्रविधीका कारण घर भत्काउदाँ यसको पुर्न उपयोग गर्न सकिनेछ । निर्माण सम्पन्न भएपछि बिगार्न पर्दा पनि पुनः प्रयोग गर्न मिल्ने यसको मुख्य विशेषता हो । फ्याक्ट्री सार्नुपर्दा पुनः प्रयोग गर्न मिल्ने हुनाले यसको लोकप्रियता बढ्दै गएको बताइएको छ ।

यसको प्रयोगका लागि बिम, पिलर मात्रै बनाउनुपर्छ । यसपछि छतको रूपमा कारखानाबाट प्रिकाष्ट स्ल्याब लगेर फिट गरे पुग्छ । क्रेनको सहायताले प्रिकाष्ट फिट गर्न सकिन्छ । प्रिकाष्ट स्ल्याब १५ फिट लम्बाइसम्मको पाइन्छ । यस्तो ढलानमा दुईओटा पिलरबीचको दूरी १५ फीटसम्म राख्न सकिन्छ, जसले गर्दा निर्माण खर्चमा कमी आउने बताइएको छ । अन्य आरसीसी स्ल्याब ढलान गर्ने भए पिलरको दूरी १०र१२ फीटसम्म राख्ने गरिन्छ । तर, विज्ञहरूका अनुसार सपोर्ट सिष्टम गरे प्रिकाष्ट २० फीट चौडाइसम्मको पिलरको फरकमा राख्दा पनि फरक पर्दैन ।

परम्परागत ढलान भन्दा बढी हलुका हुनु यसको अर्को विशेषता हो । इञ्जिनीयरहरूका अनुसार परम्परागत ढलानमा २ हजार ४ सयदेखि २ हजार ५ सय प्रतिघनमिटर घनत्व हुन्छ भने यसमा १ हजार ५ देखि १ हजार ६ सय प्रतिघनमिटर मात्रै घनत्व हुन्छ । यसको बीचमा प्वाल हुने भएकोले बढी हलुका भएको हो । प्वाल भएकै कारण यसमा ताप प्रसार हुँदैन, जसले गर्दा तातो हुन पाउँदैन । यसैले इँटा भट्टाको डग (इँटा भट्टाको माथिपट्टि)मा पनि यसको प्रयोग गर्न सकिन्छ । साथै, प्वालकै कारण यसमा प्लम्बिङ, कन्सिल्ड वायरिङ गर्न समेत सजिलो हुन्छ ।

नेपालमा आजभन्दा धेरै बर्ष पहिलेनै नगरकोटको क्लब हिमालय, वीरगञ्जको हिमालयन बैङ्क, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, त्रिपुरेश्वरको एनआईसी एशिया बैङ्क र कमलादीको लक्ष्मी बैङ्कमा यस प्रकारको प्रिकाष्ट स्ल्याबको प्रयोग भइसकेको छ ।

पछिल्लो समय गोर्खा प्रिकाष्ट प्राइभेट लिमिटेडले नेपालमा यस्तो प्रविधिको निर्माण सामग्रीको उत्पादन शुरू गरेको छ । कम्पनीका सञ्चालक इञ्जिनीयर कृष्णभक्त दुवालका अनुसार नेपालमा विभिन्न साइजका प्रिकाष्ट स्ल्याबको उत्पादन भइरहेका छन् ।

गोर्खा प्रिकाष्टले मात्रै २ फीट चौडाइ र १ सय एमएम (५ इञ्च) मोटाइका प्रिकाष्ट स्ल्याब उत्पादन गर्दै आएको दुवालले जानकारी दिए । उनका अनुसार लम्बाइ भने आवश्यकताअनुसार उपलब्ध हुन्छन् । हलुका, छिटो जडान, भूकम्पीय दृष्टिकोणबाट सुरक्षित हुनुलगायत यसका विशेषता हुन् । कारखानामा पहिले नै बनाएर राखिने भएकाले निर्माण कार्यमा स्वतः कम समय लाग्छ । यसको निर्माण ५३ ग्रेड सिमेण्ट, ७ एमएमको हाईपावर प्रिटेन्शाइल स्टील (डण्डी), बालुवा, चिप्सको प्रयोगबाट हुने कम्पनीले जानकारी दिएको छ ।

Related posts

Leave a Comment