पहिराेबाट विद्यालय भवनमा क्षति

फलेवास  |  फलेवास नगरपालिका– ३ शंकरपोखरीस्थित जनसहयोगी मावि भवन पहिराेले भत्काएको छ । गत वर्ष निर्मित तीनकोठे भवनको पछाडिको भाग पहिराले भत्काएपछि विद्यार्थी राखेर पठनपाठन गराउन समस्या भएको हो । भवनमा पुस्तकालय र कम्प्युटर कक्षा सञ्चालनमा ल्याउन नसकिएको प्रअ गणेशबहादुर थापाले बताउनुभयो ।

भवनमा क्षति पुगेपछि विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षा पनि सञ्चालन गर्न रोकिएको छ । सहयोगीदाताले दिएका कम्प्युटरसमेत उपयोग गर्न नसकिएको विद्यालयले जनाएको छ । चार सय विद्यार्थी रहेको विद्यालयमा कम्प्युटर तथा विज्ञान प्रयोगशाला छन् । भवन भत्किएपछि प्रयोग सामग्री थन्काएर राख्नुपरेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर कार्कीले मर्मतका लागि जिल्ला शिक्षा कार्यालयमा अनुरोध गरिए पनि आवश्यक सुनुवाइ नभएको गुनासो गर्नुभयो । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले विद्यालयले दरबन्दी माग गरेको तर भवन मर्मतको माग नआएको बताउनुभयो ।

Related posts

Leave a Comment