राष्ट्रपतिद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिकूल मौसमका कारण हवाई उडानमा कठिनाइ परेको र सडक सञ्जालमा समेत कटान र डुबानले क्षति पु¥याइ कतिपय ठाउँमा राहत तथा उद्धारका काम अघि बढाउन व्यवधान खडा हुनु दुःखको विषय भएको बताउँदै राष्ट्रपतिको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हालैका दिनमा प्राकृतिक प्रकोपबाट ठूलो संख्यामा ज्यान गुमाउनु परेको छ, सयौँ घाइते बन्नु परेको छ, हजारौँ बेपत्ता हुनुपरेको छ, बाढी र पहिरोको चपेटामा परेका हजारौँले उद्धार र राहतको पर्खाइमा कष्टसाध्य जीवन विताउनु परेको छ, लाखौँ प्रभावित भएको अवस्था छ, सिंगो देशलाई दुःखित र स्तब्ध तुल्याएको उक्त कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले उद्धार, राहत र पुनस्र्थापना गर्न योजना सहित अघि बढिरहेको सन्दर्भमा यस कार्यको उचित अनुगमन हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउँदै राष्ट्रपतिले दुःखको यस घडीमा धैर्य र साहस सँगाल्दै गैरसरकारी संघसंस्था, समुदाय, निजीक्षेत्र र सर्वसाधारणलाई पीडितको उद्धार, राहत र सुरक्षित वासस्थानको उचित प्रवन्ध मिलाउन आव्हान गर्नुभएको छ ।

साथै राष्ट्रपतिले बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएका मृतकका शोकसन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना व्यक्त गर्नु भएको छ ।

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १३३ को उपधारा (२) बमोजिम तीनवटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

व्यवस्थापिका–संसदबाट पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका निम्ति पेश भएका ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’, ‘संघीय आकष्मिक कोष विधेयक, २०७४’ र ‘बोनस (पाँचौँ संशोधन) विधेयक, २०७४’ राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Related posts

Leave a Comment