४ आना सुनको लागी आफ्नै साथीले गरे हत्या

कञ्चनपुर ।

पछिल्लो समय कञ्चनपुरमा हत्यका घटना बढिरहेका छन् । चालु आर्थिक वर्षमा २ जना बालबालिका सहित ६ जनाको हत्या भएको छ ।

बुधबार मात्रै ४ आना सुन लुट्न एकजना बालकको आफ्नै साथीले हत्या गरेका छन् । भीमदत्त नगरपालिका–७ हल्दुखालका १३ वर्षका तिलक चन्दको कानको चार आना सुन लुट्न साथीले हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर सेटीका अनुसार भीमदत्त नगरपालिका–७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ८ मा अध्ययनरत चन्दलाई उनीसँगै कक्षा ८ मा अध्ययनरत १७ वर्षका साथी आशिष अधिकारीले हत्या गरेका हुन ।

अधिकारीले साथी चन्दले कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको स्वीकारी सकेको प्रहरी नायव निरीक्षिक सेटीले बताउनुभयो ।

यही घटनामा संलग्न रहेको भन्दै प्रहरीले अधिकारीसहित कक्षा ८ मै अध्ययनरत तीन जना साथीलाई समेत पक्राउ गरी अनुसन्धान गरेको छ ।

अधिकारीले चन्दको हत्या गरेको स्वीकार गरे पनि अन्य तीन जनाले भने सुन राख्न र बेच्न सहयोग गरेको देखिएको प्रहरी नायव निरीक्षक सेटीले बताउनुभयो ।

गत भदौ २५ गते स्कूलबाटै बेपत्ता भएका चन्दको गएराति हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

 

Related posts

Leave a Comment