उपत्यकाका ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गरेको छ ।

विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो ।काठमाडौँ उपत्यकामा रहेका नौ हजार ७००ट्याक्सीमध्ये आठ हजार ७०० ट््याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

विभागले २०७४ साल साउनसम्म उपत्यकाका सबै ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिने गरी काम गरेपनि यसमा भने केही ढिलाई भएको छ ।प्रिन्टर मेसिन जडानको सिलसिलामा केही महिना अगाडि ट्याक्सी व्यवसायीसँग पैसा मागेको आरोपमा विभागको ट्याक्सीमा ट््याम्पो इकाइ प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ समेत गरेको थियो ।

अहिले दैनिक ५० देखि १०० को हाराहारी ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने काम भइरहेको महानिर्देशक पुडासैनीले बताउनुभयो ।

प्रिन्टर मेसिन जडान गर्दा पाँचदेखि आठ हजारसम्म खर्च लाग्ने गरेको छ । विभागले आम ट्याक्सी चालकलाई आफ्नो ट्याक्सीमा प्रिन्टर जडान गर्न तथा सेवाग्राहीलाई बिल लिएर मात्र यात्रा गर्न आग्रह समेत गरेको छ ।

समयमा ट्याक्सीमा प्रिन्टर मेसिन जडान नगर्ने ट्याक्सी चालकलाई ट्याक्सी चलाउन रोक लगाउने विभागले जनाएको छ ।

Related posts

Leave a Comment