डुबानका कारण बिचल्लीमा परेकाको उद्धार

धनगढी ।

अविरल वर्षसँगै कैलालीको भजनी नगरपालिका क्षेत्रमा भएको डुबानका कारण बिचल्लीमा परेका करिब २० जनाको आज उद्धार गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रबरको डुंगाको सहायतामा यी व्यक्तिको उद्धार गरी सुरक्षित ठाउँमा राखेको छ । उद्धार गरिएका व्यक्तिहरु कतिपय हुलाकी राजमार्गको अग्लो ठाउँको सडकखण्डमा आएर बसेका छन् भने अन्य कतिपय व्यक्ति नजिकको आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

वर्षाका कारण स्थानीय कान्द्रा, मोहना, काँडा र पथरैया नदीमा बढेको पानी भजनी नगरपालिकाको ठेकीपुर, कुसुमघाट, नयाँ बस्ती, दैलेखी टोल वर्दवाफाँट, पकडियालगायत गाउँमा पसेपछि सो क्षेत्रका मात्रै तीन सय घर डुबानमा परेको स्थानीय चित्रबहादुर साउदले बताउनुभयो ।

घरहरु डुबानमा परेपछि केही परिवारका सदस्य भुइँ तलामा रहेको आआफ्नो घरको अन्नपातसहित दोस्रो तल्ला वा घरको छानामा बसेर जोगिएका छन् । कैलालीको सीमादेखि झन्डै १० किलोमिटरको दूरीमा रहेको भारतको कैलाशपुरी बाँधका ढोका नखोलिएको कारण कर्णाली, मोहना, काँडा, कन्द्रा, पथरैया नदीमा बढेको पानीको सहत रोकिएपछि सो क्षेत्रमा डुबानको समस्या भएको हो ।

डुबानवाट प्रभावितको उद्धार र राहत वितरणको कार्य सुरु गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको पहलमा नेपाल रेडकक्रस सोसाइटी र फाया नेपाललगायत संघ संस्थामार्फत डुबानबाट पीडिलाई सुरक्षित राख्नका लागि त्रिपालको व्यवस्थाका साथै चिउरा, चाउचाउ, लत्ताकपडा वितरण गरिरहेको छ ।

Related posts

Leave a Comment