पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् ।
पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए । उनले सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए ।
उनले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए । उनले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउन उपसभामुखलाई हटाउन खोजिएको बताए ।
सपकोटाले भने‚ ‘उहाँहरूले(सत्तारुढ दलहरूले) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ । अहिले सरकार अल्पमतमा छ । त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटिमा टेकेर उहाँलाई हटाउन खोजिएको हो । उहाँको गल्ती कमजोरी पनि होला । मैले बुझ्न बाँकी छ । उहाँहरूको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्मा निर्णय गर्नका लागि सहज बनाउन यो एजेण्डालाई अगाडि ल्याएको हो । सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ । त्यसो भएको हुनाले यो सम्भव पनि छैन ।’
पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसद्को गरिमा र ओज राख्नुपर्ने बताए । उनले सभामुख र उपसभामुखले संसद्को गरिमामा आँच आउने काम गर्न नहुने बताए ।













