बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको पहिचान खुलेको छ ।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा, उपाध्यक्ष भुपेन्द्राकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष जस बहादुर श्रीपालीको मृत्यु भएको हो ।
रुकुमुपूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार, तीन जनाकै शव पहिचान भएको हो ।
उनीहरू शुक्रबार काठमाडौँबाट रुकुमपूर्वका लागि हिँडेका थिए । सोही क्रममा गलकोट–२ भुङ्खानी भन्ने ठाउँबाट उनीहरू सवार रा १ झ २०० नम्बरको सरकारी गाडी लगभग ३ सय मिटर तल झरेको थियो ।
उपाध्यक्ष बुढा गत भदौ १८ गते आमालाई लिएर उपचारका लागि काठमाडौं गएकी थिइन् । वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा भदौ १९ गते काठमाडौं गएका थिए । वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए । तर वडा नम्बर २ का अध्यक्ष श्रीपाली भने उपाध्यक्ष बुढासँगै जिपमा फर्कदै थिए ।
दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै ज्यान गएको थियो । गाडीमा जम्मा ४ जना सवार थिए । चालक २९ वर्षीय प्रेम पुन भने घाइते भएका छन् । उनको धवलागिरी अस्पतालमा उपचार भइरहेको छ ।
उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा ९माओवादी केन्द्र० बाट उम्मेदवार भई निर्वाचित भएका थिए।















