काठमाडौँ : नेपाल टी-२० लिगमा फार वेस्टर्न युनाइटेडले काठमाडौँ नाइट्समाथि सहज जित हासिल गरेको छ। सोमबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्यो।
टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौँले खराव ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाएको थियो। काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउनु सर्वाधिक धेरै रनका रूपमा रह्यो।
उनी बाहेक कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाउँदा थप दोहोरो स्कोरका रूपमा सन्तोष कार्कीले १२ रन जोडेका थिए। फार वेस्टर्नका लागि उमर अलिले ३ तथा हजमतुल्ला शहिदी र भुवन कार्कीले समान २/२ विकेट हात पारे।
९९ रनको सामान्य लक्ष्य पछ्याएको फार वेस्टर्नले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। फार वेस्टर्नलाई जित दिलाउन कप्तान हस्मतुल्ला शहिदीले अविजित ५० रनको अर्धशतकीय इनिङ खेले। उनी बाहेक अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।
ओपनर देव खनालले १७ रन बनाउँदा थप दोहोरो स्कोरका रूपमा भीम सार्कीले ११ रन बनाएका थिए। काठमाडौँका लागि अनिल खरेलले २ विकेट लिएका थिए।