‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेतालाई १ करोड पुरस्कार

इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स  यूनिभर्स’ को आयोजना हुने भएको छ ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एपमार्फत आवेदन दिन सक्ने जनाएको छ ।  १६ वर्षमाथिका व्यक्तिले यस प्रतियोगितामा आवेदन दिन सक्नेछन्  । घोषणा कार्यक्रममा बोल्दै  फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी संस्कृति जोगाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।
‘हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ’,उनले भने  ‘फाउन्डेसनको मुख्य उदश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा साङ्गीतिक क्रान्ति ल्याउनु हो ।’
‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स  यूनिभर्स’ मा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले अनलाइन आवेदन दिन सक्ने जनाइएको छ ।  प्राथमिक छनौट प्रक्रिया पछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन लिनेछ ।  यी दुवै सोहरूको आवेदन दिने मिति जनवरीको अन्तिम तारिकमा तोकिएको छ ।
मेरो भ्वाइस यूनिभर्सको निर्णायकमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता बर्मा र पुष्पन प्रधान लगायतका वरिष्ठ गायकहरू रहेका छन् । यस्तै मेरो डान्स  यूनिभर्सको निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शङ्कर बिसी, केकी अधिकारी, प्रियङ्का कार्की र नरमन राई हुने जनाइएको छ ।  यी सोहरूको निर्देशन भने एलिन श्रेष्ठले गर्ने भएका छन् ।  यी दुवै शो नेपालकै सर्वाधिक धेरै धनराशि भएका रियालिटी शो हुन् ।
फाउन्डेसनका अनुसार मेरो भ्वाइस यूनिभर्सका विजेताले एक करोड पाउनेछन् । यस्तै  फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पाउनेछन् ।
 त्यस्तै मेरो डान्स  यूनिभर्सका विजेताले पनि एक करोड पाउनेछन् । साथै फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पाउनेछन् ।
इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भइएको संस्था हो । यसले नेपाली संस्कृतिलेलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ ।
सम्बन्धित समाचार