नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूर्ख बनाएको बताएका छन् । आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले वामपन्थी एकताका लागि धरै जोखिम मोले पनि अन्त्यमा आफैँ मूर्ख भएको बताएका हुन् ।
‘खासगरी एमाले नेतृत्वको नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्वको अझ एमालेको प्रमुख नेताले यो संविधान कतिबेला च्यात्ने होला भन्ने बाहेक अरू भएको मैले बुझिनँ । मैले उहाँसँग मिलेर वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिन्छ कि भनेर धेरै जोडबल गरेँ, धेरै जोखिमहरू उठाएँ, खतरा मोलेँ । तर, जति धोए पनि गधालाई गाई बनाउन सकिने थिएन । मूर्ख त मै भएँ,’ उनले भने ।
प्रधानमन्त्री ओलीको दिमागमा संविधान च्यात्नेबाहेक अर्को कुनै कुरा नै नरहेको आफूले पाएको उनले सुनाए ।
‘अहिलेको सरकार यो संविधान कुनै पनि तरिकाले च्यातियोस्, यो संविधान खारेज गरियोस् भन्न चाहन्छ । खासगरी नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्व, एमालेको प्रमुख नेतामा यो संविधान के गरी च्यात्ने होला भन्ने बाहेक उहाँको दिमागमा अरु भएको मैले बुझिनँ,’ उनले भने ।
साथै, वर्तमान सरकार धेरै समय नटिक्ने उनको दाबी छ । आफूहरु अहिले समीकरण परिवर्तन गर्ने खेलमा नरहेपनि वर्तमान सरकार धेरै दिन नटिक्ने उनले बताए । ‘यो सरकार धेरै जाने स्थिति कतैबाट पनि छैन । तर, हामी समीकरण बनाउनेतिर लाग्दैनौं । हामी जनतामै जान्छौं । हामी यो खेलमा अब छैनौं,’ प्रचण्डले भने ।