सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा हिउँदे अधिवेसन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी संसदको चालु अधिवेशन अन्त्य गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले हिंसा शब्दलाई संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान लिएपछि आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो । नेकपा एमालेका नेता योगेश भट्टराईले भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा माओवादीको सशस्त्र जनयुद्धलाई संसद बैठकमा ‘हिंसा’भनेपछि माओवादीले त्यसको प्रतिकार गर्दै आएको छ । उसले हिंसा शब्द संसद्को रेकर्डबाट हटाउन मागसमेत गर्दै आएको छ ।
यस विषयमा सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएको र रेकर्डबाट पनि हटाउन नमिल्ने रुलिङ गरेपछि माओवादी झनै आक्रामक बनेको हो ।