आहा रारा गोल्डकप : एपीएफमाथि संकटाको सानदार जित

कास्की – पोखरामा जारी २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लबले डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफ क्लबमाथि चार गोलको वर्षा गरेको छ।

दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको एपीएफले क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सेमिफाइनलको यात्रा तय गरेको थियो। बुधवारको सेमिफाइनल खेलमा पहिलो हाफमा २ गोलको अग्रता लिएको संकटाले खेलको दोस्रो हाफमा अग्रता दोब्बर पार्दै ४ गोल अन्तरले एपीएफलाई स्तब्ध पारेको हो।

संकटाका लागि खेलको चौथो मिनेटमा स्टेफन बिनोङले गोल गर्दै अग्रता दिलाएका हुन्। खेलको ४२ औँ मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। खेलको ६० औँ मिनेटमा फेरि पनि स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई ३–० मा लगे।

गोल अन्तरका कारण आक्रामक रूपमा खेलेको एपीएफका लागि ७३ औँ मिनेटमा हरि कार्कीले सान्त्वना गोल भने गर्न सफल बने। बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको छोटा पासलाई कार्कीले गोलमा परिणत गरेका हुन्। ८५ औँ मिनेटमा संकटाकै मेसुकेले अर्को गोल गर्दै गोलान्तरलाई फराकिलो पारे।

नयाँ खेलाडीको साथमा प्रतियोगितामा आएको संकटाले २०७७ सालमा भएको संस्करणमा पनि सेमिफाइनलमा एपीएफलाई हराएको थियो।

सम्बन्धित समाचार