काठमाडौं । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ ।टियु क्रिकेट मैदानमा बुधबार विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् ।
लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए ।उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत,कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको थियो ।पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले सहभागिता जनाएका थिए ।